चीन ‘मध्यम आय’ को पासोमा फस्ला कि निस्केला

मूलखबर संवाददाता
काठमाडौं

मार्टिन वुल्फ

चीनको आर्थिक भविष्य कस्तो छ? के चीन उच्च आय भएको मुलुक बन्ला? त्यसो भयो भने यो मुलुक लामो अवधिका लागि विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्नेछ। कि यो ‘मध्यम आय’ को पासोमा फस्ला? विश्व अर्थतन्त्रको भविष्यका लागि यो महत्वपूर्ण सवाल हो। त्यस्तै, विश्व राजनीतिको भविष्यका लागि पनि यो प्रश्न कम महत्वपूर्ण छैन।

यसको प्रभाव केकस्तो हुन्छ, सजिलो तरिकाले नै बुझ्न सकिन्छ। अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार सन् २०२२ मा क्रयशक्तिका आधारमा चीनको प्रतिव्यक्ति जीडीपी अमेरिकाको तुलनामा २८ प्रतिशत मात्र थियो। यो पोल्यान्डको प्रतिव्यक्ति वास्तविक जीडीपीको ठ्याक्कै आधा हो।

आईएमएफले चीनको प्रतिव्यक्ति जीडीपीलाई विश्वको ७६ औँ स्थानमा राखेको छ। जुन एन्टिगुआ र बर्बुडाभन्दा तल र थाइल्यान्डभन्दा माथि छ। तथापि यो सापेक्ष गरिबीका बाबजुद हाल चीनको जीडीपी विश्वको सबैभन्दा ठूलो हो। अब मान्नुहोस्, चीनको प्रतिव्यक्ति वास्तविक जीडीपी दोब्बर भएर पोल्यान्डसँग बराबर भयो। त्यतिबेला चीनको जीडीपी अमेरिकाको भन्दो दोब्बर अनि अमेरिका र ईयूको संयुक्त जीडीपीभन्दा पनि ज्यादा हुनेछ।

आकार महत्वपूर्ण छ। चीन निकै लामो समयसम्म ठूलो जनसंख्या भएको मुलुक रहने निश्चित छ। राष्ट्रसंघका अनुसार सन् २०५० मा चीनमा १.३ अर्ब मानिस हुनेछन्।

त्यसो हुनाले चीनको भविष्यबारेको प्रश्नलाई यो तरिकाले सोध्न सकिन्छ– के चीनले अमेरिकाको तुलनामा पोल्यान्डको समृद्धि जति छ, त्यो स्तरको समृद्धि हासिल गर्न सक्छ? त्यसका लागि चीनले आफ्नो वास्तविक जीडीपी फेरि दोब्बर गर्नुपर्ने हुन्छ। के यो काम निकै कठिन छ त? कुनै निष्कर्षमा पुग्नुअघि के विचार गर्न जरुरी छ भने चीनको प्रतिव्यक्ति जीडीपी १९८८ मा अमेरिकाको २ प्रतिशत मात्र थियो। ४२ वर्षपछि २०२२ मा त्यो २८ प्रतिशत पुग्यो। यो भनेको चार दोब्बर हो। यो अबको २० वर्षमा एक पटक दोब्बर नहोला त?

यो प्रश्नको जवाफ खोज्न एउटा तुलनाले सहयोग गर्न सक्छ। दोस्रो विश्वयुद्ध समाप्तिपछिको युगमा चीनको प्रगतिसँग मिल्दोजुल्दो प्रगति गरेको मुलुक दक्षिण कोरिया हो। १९६० को दशकको सुरुवातमा दक्षिण कोरियाको प्रतिव्यक्ति जीडीपी अमेरिकाको ९ प्रतिशत थियो। सन् १९८० देखि चीनलाई यो विन्दुमा पुग्न करिब २५ वर्ष लाग्यो। अमेरिकाको २८ प्रतिशत अर्थात् चीन आज जुन विन्दुमा छ, त्यहाँ दक्षिण कोरिया १९८८ मै पुगिसकेको थियो।

दक्षिण कोरिया अमेरिकाको ५७ प्रतिशत अर्थात् आजको पोल्यान्डको स्तरमा २००७ मा पुगेको थियो। अहिले दक्षिण कोरिया अमेरिकाको ७० प्रतिशत पुगेको छ। यदि चीनले दक्षिण कोरियाको बराबरी गर्ने हो भने पोल्यान्ड २०२२ मा जुन विन्दुमा छ, त्यहाँ चीन २०४० को दशकमा पुग्नेछ भने २०५० को दशकमा अमेरिकाको ७० प्रतिशत पुग्नेछ। त्यो नयाँ विश्व हुनेछ।

यो तुलना अस्वीकार गर्नुअघि केही गल्तीबाट बच्नुपर्ने हुन्छ। अहिले चीनको आर्थिक मन्दी, घरजग्गामाथिको लगानीमा अत्यधिक निर्भरता र उसको नाजुक वित्त क्षेत्रमा ज्यादा ध्यान केन्द्रित गरिएको छ। यो स्वाभाविक हो। तर, यो अतिरञ्जित पनि हुन सक्छ।

विगतमा दक्षिण कोरिया अनेक ठूला संकटमा परेको थियो। खासगरी १९८२ को ऋण संकट र १९९७ को वित्तीय संकट। तथापि, यी झट्काहरुबाट सम्हालिँदै दक्षिण कोरिया अघि बढ्यो। १९९० पछि जापानले भोगेको दीर्घकालीन मन्दी पनि दक्षिण कोरियाले बेहोर्नुपरेन।

त्यसविपरीत १९५० को दशकमा जापानको एक तिहाइ मात्र प्रतिव्यक्ति जीडीपी भएको दक्षिण कोरिया अहिले आफूमाथि उपनिवेश लाद्ने जापानभन्दा पनि धनी छ। अर्कोतिर ताइवानले दक्षिण कोरियाभन्दा पनि राम्रो प्रगति गरेको छ। त्यसकारण धेरै ताइवानीहरुले स्वतन्त्र रहने चाहना राख्नु अचम्मको कुरा होइन।

आर्थिक र प्रविधिको क्षेत्रमा तीव्र गतिमा एकपछि अर्को मुलुकलाई भेट्टाउँदै अघि बढिरहेको चीन उत्कर्षमा पुगिसक्यो, अब ऊ अघि बढ्ने ठाउँ छैन भनेर कारणहरुको लामो सूची अघि सार्न सकिन्छ। ती कारणहरुमा बुढो हुँदै गएको जनसंख्या, संरचनागत असन्तुलन, वित्तीय कमजोरी, बिग्रँदो अन्तर्राष्ट्रिय वातावरण र आजको दमनकारी सरकार पर्छन्। यी सबै तर्कहरु वैध छन्।

सबैभन्दा जटिल आर्थिक समस्या के हो भने चीनको मागको स्रोत ऋण लिएर गरिएका लगानीहरुमाथि अत्यधिक निर्भर छ। वस्तु तथा सेवाको उपभोगमा होइन। त्यस्तै, बढ्दो आपूर्तिको स्रोत नवअन्वेषणमा होइन, पुँजी सञ्चयमा उसैगरी निर्भर छ। २००९ देखि २०२२ सम्म चिनियाँ अर्थतन्त्र स्रोतसाधन उपयोगमा बढी कुशल भएको छ, तर यो पनि पर्याप्त भने छैन।

तथापि, यो विशाल मुलुकको शक्ति याद राख्न आवश्यक छ। जसले एक वर्षमा १४ लाख इन्जिनियर उत्पादन गर्छ। विश्वको सबैभन्दा धेरै पेटेन्ट दर्ता गर्छ। अत्यन्त उद्यमशील जनसंख्या छ। र, विश्वलाई नेतृत्व गर्ने क्षमता पनि उसले प्रदर्शन गरिरहेको छ, उदाहरणका लागि विद्युतीय सवारीलाई लिन सकिन्छ। सूचना–प्रविधिको क्षेत्रमा चीन युरोपेलीहरुभन्दा निकै अगाडि पुगिसकेको छ। छोटोमा भन्दा, के चीन साँचो अर्थमा पोल्यान्डसँग बराबरी गर्न सक्दैन त?

चिनियाँ अर्थव्यवस्थाको भविष्यसम्बन्धी सबैभन्दा ठूलो प्रश्न राजनीतिसँग गाँसिएको छ–आन्तरिक र अन्तर्राष्ट्रिय दुवै राजनीतिसँग। आन्तरिक राजनीतिको कुरा गर्दा चिनियाँ नेतृत्व तीव्र वृद्धिलाई निरन्तरता दिन चाहन्छ कि अब स्थिरतालाई ज्यादा रुचाउँछ? के ऊ अहिले माग वृद्धि गर्न मात्र होइन, अधिक बचत, अधिक लगानी, घरजग्गा बजारमा अधिक निर्भरताजस्ता संरचनात्मक समस्या समधानका लागि तयार छ? ऊ निजी व्यवसायलाई आफ्नो अधिकार फेरि दिन तयार छ कि आफ्नो कठोर नियन्त्रणमा राख्न चाहन्छ? के चीनको नेतृत्वले जनतालाई कोभिडको चोटपछि भविष्यमा एक पटक फेरि आश्वस्त तुल्याउन सक्छ?

पिटरसन इन्स्टिच्युट अफ इन्टरनेसनल इकोनोमिक्सका एडम पोजनको तर्क छ– चिनियाँ नेतृत्वले यो काम गर्न सक्दैन। तर, म ती तर्कमा विश्वस्त छैन। चीनमा १९७० को दशकमा यसभन्दा निकै ठूलो स्तरमा परिवर्तन भएका थिए। हो, त्यतिबेला नेतृत्व पनि बदलिएको थियो। के अहिले बदलिएला त? कि आउँदा कयौँ वर्षका लागि यही नेतृत्व रहला?

उति नै महत्वपूर्ण छ, प्रतिकूल अन्तर्राष्ट्रिय वातावरण। विश्व बजार र प्रविधिमा चीनको पहुँच कम हुँदै गएको छ। युद्धको खतरा समेत छ। बजार र प्रविधिमा भएको अवरोध हटाउन ठूलो दृढसंकल्प आवश्यक छ, युद्ध टार्न बुद्धिमत्ता।

तसर्थ, हो, हामी चीनको उदयको अन्त्य हेरिरहेका हुनसक्छौँ। तर यो अपरिहार्य भने छैन। सबैभन्दा ठूलो कुरा, के हुन्छ भन्ने कुरा पश्चिमको चाहनाभन्दा पनि चिनियाँहरुको रोजाइमा निर्भर रहनेछ।

फाइनान्सियल टाइम्सबाट साभार