माओवादी केन्द्रले सरकारलाई भन्यो- चाडबाडको यात्रा सहज बनाऊ, उपभोक्तालाई राहत देऊ

मूलखबर संवाददाता
काठमाडौं

१४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रदेशस्तरीय तीन कमिटीको संयुक्त बैठकले चाडबाडको बेला उपभोक्तालाई राहत दिन, घर फर्किनेहरुलाई सहज रुपमा टिकट पाउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार काठमाडौंमा बसेको बागमती प्रदेश समिति, उपत्यका विशेष प्रदेश समिति र सम्पर्क समन्वय समितिको संयुक्त बैठकले महँगीको मारमा परेका जनतालाई राहत तथा सुविधा दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

नेपाल आयल निगमले खाना पकाउने ग्यास, डिजेल, मट्टीतेल र पेट्रोलमा गएरातिदेखि लागु हुने गरी अत्यधिक मूल्य वृद्धि गरेपछि सरकारको आलोचना भइरहेको बेला बागमती प्रदेश समितिका इन्चार्ज जनार्दन शर्माले तीन वटा समितिको संयुक्त बैठक बोलाएका थिए ।

बबरमहलस्थित बागमती प्रदेश समितिको कार्यालयमा बसेको सोही बैठकले उपभोक्तालाई राहत दिन र हवाई तथा सडक यातायातको टिकट सहज रुपमा पाउने वातावरण निर्माणका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरेको शर्माले जानकारी दिए ।

खासगरी दशैं तिहारमा काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुलाई विगतका वर्षहरुमा टिकट पाउन सास्ती हुने गरेको छ । बल्लबल्ल टिकट पाए पनि ठगिने गरेको गुनासोसमेत आउने गरेको छ । यस्ता समस्या आउन नदिन अहिलेदेखि नै सरकारलाई आवश्यक तयारी गर्न माओवादी केन्द्रले भनेको हो ।

यसैगरी दशैं तिहारका लागि लामो दुरीको यात्रा गर्ने यात्रु तथा सवारी चालकहरुको सुविधाका लागि सडकका खाल्डाखुल्डीहरु पुरेर सहज रुपमा गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउन पनि माओवादीले सरकारलाई आग्रह गरेको छ ।

चाडबाडको बेला पार्टी प्यालेसमा हुने भोज र यात्राको क्रममा यात्रुहरुले सडक किनारका होटल तथा रेष्टुरेन्टमा खाने खानाको गुणस्तर जाँचेर स्वच्छ खाना खान पाउने व्यवस्था मिलाउन पनि आग्रह गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को हालसम्म भएका गतिविधिको समीक्षासमेत भएको थियो । बैठकले अभियान सकारात्मक र प्रभावकारी भएको निष्कर्ष निकाल्दै संगठन कमजोर भएको ठाउँमा थप योजना बनाएर अघि बढ्ने निर्णयसमेत गरेको नेता शर्माले जानकारी दिए ।