रिहा भए अनमोल केसी 

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । ठगी आरोपमा पक्राउ परेका नायक अनमोल केसी रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले हाजिर जमानीमा रिहा गर्न भनेपछि प्रहरीले हिरासत मुक्त गरेको हो ।

फिल्म रावायणका लागि १० लाख लिएको तर अन्तिम समयमा खेल्न नसक्ने भनेपछि निर्माताको उजुरीको आधारमा प्रहरीले उनलाई शनिबार नियन्त्रणमा लिएको थियो । तर स्वास्थ्यमा समस्या देखिएको भन्दै प्रहरीले उनलाई चिरायु अस्पतालमा भर्ना गरेको थियो ।

उनीमाथि अनुसन्धानका लागि म्याद थप गराउन प्रहरीले आइतबार जिल्ला अदालतमा उपस्थित गराएको थियो । तर अदालतले उनी हिरासत बाहिर बस्दा प्रमाण नष्ट गर्ने सम्भावना नरहेको, भागीजाने सम्भावना नरहेको र अस्पतालले डिस्चार्ज नगरेको भन्दै हाजिर जमानीमा छाडेको हो । जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए ।

अनमोल प्रहरीले खोजेको बखत उपस्थित गराउने सर्तमा छुटेका छन्। उनको जिम्मा काकाले लिएका थिए । छुटे लगत्तै गाडी चढेर अनमोल सिधै घर गएका छन्।