क्रिकेटको क्वाटरफाइनलमा पुग्यो नेपाल, अभिनाशको ६ विकेटको कीर्तिमान
काठमाडौं । तीव्र गतिका बलर अभिनाश बोहराले कीर्तिमानी ६ विकेट लिएसँगै नेपाल चीनमा जारी १९औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । नेपालले अब समूह ‘ए’ को विजेताका रुपमा क्वाटरफाइनलमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानमध्ये एउटासँग खेल्ने छ ।
चीनको हाङ्झाउमा आइतबार बिहान टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१२ रन बनाएको थियो । २१३ रनको विजय लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सको पारी १९ दशमलव चार ओभरमा मात्र ७४ रनमा समेटियो ।
यस क्रममा नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले कीर्तिमानी ६ विकेट लिए । उनले तीन दशमलव चार ओभर बलिङ गर्दै मात्र ११ रन खर्चे ।
टि–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा ६ विकेट लिने बोहरा पहिलो नेपाली बलर हुन् । यसअघि टि–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान पाँच–पाँच विकेट लिएका थिए ।
आज नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने, गुलशन झा र कुशल भुर्तेलले समान एक–एक विकेट लिए ।
माल्दिभ्सका लागि ब्याटिङ गर्ने क्रममा मुएवियाथ अब्दुल घानीले ३४ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ३६ रन बनाए । यस्तै राशिद राशमले १२ तथा सिउस फरिदले १० रन बनाए ।
यसअघि नेपालका कप्तान रोहितकुमार पौडेलले २७ बलमा तीन चौका र तीन छक्कासहित सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले । यस्तै कुशल मल्लले २० बलमा तीन चौका र तीन छक्कासहित अविजित ४७ रन बनाए ।
कुशल भुर्तेलले १८ बलमा पाँच चौका र एक छक्कासहित ३५ रन, गुलशन झाले २१ बलमा एक चौका र तीन छक्कासहित ३५ रन तथा विनोद भण्डारीले १५ बलमा एक चौकासहित १३ रन बनाए ।
बलिङतर्फ माल्दिभ्सका बदिउ इस्माइल नाजवानले तीन विकेट लिए ।
नेपालले यसअघि पहिलो खेलमा मंगोलियालाई २७३ रनले पराजित गरेको थियो । समूह ‘ए’बाट अपराजित रहँदै नेपालले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । समूह ‘ए’मा रहेका मंगोलिया र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन् ।
पाँच टेस्ट मुलुक भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानले सोझै क्वाटरफाइनलमा मौका पाएका छन् । समूह ‘बी’बाट हङकङ क्वाटरफाइनलमा प्रवेश गरेको छ भने समूह ‘सी’बाट क्वाटरफाइनलमा प्रवेश गर्ने टोलीको टुंगो लाग्न बाँकी छ ।