पुष्पा र अञ्जलीलाई चितवनबाट कोशी टप्पु किन पठाइयो ?

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा पोथी गैंडा कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार आज बिहान साढे ११ बजे पुष्पा र अञ्जली नामका दुई गैंडालाई छुट्टाछुट्टै खोरमा राखेर कोशी टप्पु पठाइएको हो।

प्राविधिक समितिले गरेको अध्ययनमा कोशीमा गैंडाका लागि वासस्थान उपयुक्त देखिएकाले गैंडा स्थानान्तरण गरिएको हो।

तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुट्टिएर अनाथ हुन पुगेको अवस्थामा अन्दाजी दुई र एक महीना उमेरमा उद्धार गरिएका पुष्पा र अञ्जलीले अहिले मानव बस्तीमा आएर दुःख दिने गरेकाले कोशी पठाइएको हो।

विक्रम संवत् २०७६ र २०७७ सालमा फेला परेका गैँडाका यी केटीलाई चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीहरूले पालनपोषण गरेका थिए । यी गैँडाहरू सौराहामा जङ्गलमा नभई गाउँमा पस्ने र मानिससँगै घुलमिल गरेर रमाउँदै हुर्केका थिए ।

अहिले पुष्पा करिब चार वर्ष र अञ्जली करिब अढाई वर्षका भएका छन्। शुरूमा यी गैंडालाई खुला खोरमा केही समय राखेपछि प्रकृतिमा छाडिनेछ।