एमालेमा गुट भिडन्त, बागमतीमा बस्नेत र बास्कोटाको सिंगौरी, ओलीको छिर्के
नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आज अर्थात सोमबार उद्घाटन हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा हुने अधिवेशनबाट चुनिने नेतृत्वबारे राजनीतिक वृत्तमा व्यापक चर्चा भइरहेको छ ।
संघीय राजधानीसमेत रहेका कारण यहाँको नेतृत्वलाई एमालेभित्र पनि निकै महत्वका साथ हेरिएको छ । साथै धेरै केन्द्रीय नेताहरु भएका कारण पनि यहाँको प्रतिस्पर्धा रोचक हुने निश्चित छ ।
एमालेले प्रदेशहरुमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने बताएको थियो । तर लुम्बिनी प्रदेशमा दुईवटा प्यानलै बनाएर चुनाव भएपछि त्यसको प्रभाव बागमतीमा पनि परेको छ । र, यहाँ पनि नेतृत्व चयनका लागि चुनाव हुने निश्चितप्रायः छ ।
माधव नेपाल र झलनाथ खनालहरु एमालैमै रहँदा दुई गुट मात्रै सतहमा देखिन्थे । तर अहिले एमालेभित्र भूगोलैपिच्छे फरक–फरक गुट–उपगुट निर्माण भएका छन् । लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका गुटबीच प्यानलै बनाएर चुनाव भयो ।
त्यसपछि हुन लागेको बागमती प्रदेश अधिवेशनमा भने फरक गुटबीच प्रतिस्पर्धा हुँदैछ ।
बास्कोटा र बस्नेत समूहको आ-आफ्नै तयारी
अहिलेसम्म बागमतीमा प्रष्ट गुट बनिसकेको छैन । तर यो अधिवेशनपछि जबरजस्त दुई गुट स्थापित हुने निश्चित छ । किनकि, भावी नेतृत्वका लागि पोलिट्ब्युरो सदस्यद्वय गोकुल बास्कोटा र महेश बस्नेतले अघोषितरुपमा आ–आफ्ना उम्मेदवार मैदानमा पठाउँदैछन् ।
काभ्रेका बास्कोटाले आफ्नो समूहबाट अध्यक्षका लागि मकवानपुरका कृष्णप्रसाद दाहाललाई मैदानमा उतार्दैछन् । दाहालको समूहबाट उपाध्यक्षमा धादिङका भूमी त्रिपाठी र ललितपुरका नवराज सिलवालमध्ये एकजना उम्मेदवार हुने पक्कापक्की जस्तै छ ।
त्यस्तै भक्तपुरका बस्नेतले भने अध्यक्षमा रामेछापका कैलाश ढुंगेललाई अघि सारेका छन् । ढुंगेलको समूहबाट उपाध्यक्षमा भने चितवनका दावादोर्जे लामा चुनाव लड्दैछन् ।
सचिवमा भने दुवैतर्फ अन्योल देखिन्छ । नेकपा एसमा गएर फर्केका सिन्धुपाल्चोकका सुवास कर्माचार्य, सिन्धुपाल्चोककै हस्त पण्डितको नाम चर्चामा छ । तर उनीहरुको गुट खुलिसकेको छैन ।
ओलीको छिर्के
सर्वसम्मत नेताको खोजी भइरहेका बेला चर्चामा नरहेका पूर्वसांसद कृष्णभक्त पोखरेल भित्रिएका छन् । केन्द्रीय सदस्यहरू कैलाश ढुंगेल र कृष्ण दाहालबीच प्रतिष्पर्धाको चर्चा भइरहँदा केही नेताहरूले पोखरेललाई अघि सारेका छन् ।
स्रोतका अनुसार आइतबार पार्टी नेतृत्वले ‘ग्रिन सिग्नल’ दिएकाले उनी नेतृत्वमा दाबेदारी प्रस्तुत गरेका हुन् । पोखरेलले पनि आफू अध्यक्षको दाबेदार रहेको बताए । उनले आफू चितवनको अध्यक्ष हुँदा सात स्थानीय तहमध्ये आफूले ६ वटा क्षेत्रमा जितेको सुनाए ।
“चितवन जिल्लाको अध्यक्ष भएर काम गरेँ । आफ्नो कार्यकालमा सातवटा स्थानीय तहमध्ये ६ वटा तहमा विजय गराएर एक नम्बरको पार्टी बनाएँ,” उनी भन्छन्, “विभिन्न भूमिकामा रहेर २८ वर्ष चितवनको नेतृत्वमा रहेर काम गरेँ ।”
पोखरेल दुईपटक संघीय सांसद बनेका थिए । उनी प्रतिनिधिसभाको कानुन समितिको सभापति पनि बनेका थिए । कानुन समितिमा रहँदा आफूले विपक्षीहरूलाई मिलाएको स्मरण गर्दै उनी अहिले पार्टीमा पनि सर्वसम्मत हुने दाबी गर्छन् ।
“कानुन समितिको सभापति भएर १७६ भन्दा बढी कानुनहरू सर्वसम्मत ढंगले लेखियो । विपक्षीलाई पनि सबै मुद्दामा मिलाएर काम गरियो । पार्टीभित्र विभिन्न समस्या देखिएका बेला सबैलाई सन्तुलनमा ल्याएर काम गर्न सकिन्छ भन्ने विश्वास छ,” उनी भन्छन् ।
उनी ०७३ बाटै प्रदेश कमिटी सदस्य छन् । नेतृत्वले न्यायोचितरूपमा निर्णय गर्ने उनको विश्वास छ ।
“नेतृत्वकाले लागि दाबि प्रस्तुत गरिरहेको छु । नेतृत्वसँग कुरा भइरहेकै पनि छ । नेतृत्वले न्यायोचित गर्ला,” उनी भन्छन् । केन्द्रीय सदस्यहरूले पनि प्रदेश कमिटीकै तर्फबाट नेतृत्व पाउनुपर्छ भन्ने कुरा महसुस गर्नुपर्ने उनी बताउँछन् ।
वाग्मतीमा नेतृत्वले सहमतिका लागि दबाब दिएपछि चर्चामा रहेका नेताहरू केही लचक देखिएका छन् । विशेष गरी नेतृत्वको दाबी गरेका ढुंगेल र दाहाल लचक देखिएका छन् । पार्टी नेतृत्वले वाग्मतीमा पूर्वमन्त्रीसमेत रहेका ढुंगेलको नाम अघि सारेको चर्चा छ । जसमा पूर्वसांसद तथा प्रतिनिधिसभाको अर्थ समितिको सभापतिसमेत रहेका दाहालले आपत्ति जनाएका छन् ।
असोज ८–९ गते चल्ने अधिवेशनका लागि एक हजार ३८ जना छानिएका छन् । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित कुल २४० सदस्यीय कमिटी चयन गर्ने छ ।