शेखर-गगनको गनगन, कांग्रेस इतर समूहले सत्ता गठबन्धन तोड्ने हैसियत राख्ला

मूलखबर संवाददाता
काठमाडौं

पार्टीको संस्थापन पक्षले पुष्पकमल दाहाल प्रचण्ड ‘नेतृत्व’कै सरकारको निरन्तरता चाहिरहेका बेला प्रभावशाली नेता डा. शेखर कोइरालाले पछिल्लो केही सातायता निरन्तर कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने विषय उठाउँदै आएका छन् ।

कतिसम्म भने सभापति शेरबहादुर देउवासमेत सहभागी कार्यक्रममा शेखरले मुखै फोरेर ‘सरकारले प्रभावकारी काम गर्न सकेन । हाम्रा मन्त्रीले पनि प्रभावकारी कार्यसम्पादन देखाउने अवस्था भएन, अब कांग्रेसले नेतृत्व गर्नुपर्छ’ भनेर देउवामाथि दबाब बढाए ।

तर, १० पुसमा आफ्नै अव्यावहारिक निर्णयले गुमेको सत्ता र शक्ति बल्लतल्ल फर्काएका देउवा शेखरको यो लाइनसँग टसमस देखिएका छैनन्, किनकि ठूलो दल भएर पनि सत्ताबाट विमुख हुनु परेपछि निकै कसरत गरेर देउवाले पार्टीलाई केन्द्रदेखि सबै प्रदेशको सत्तामा कांग्रेसलाई फर्काए ।

यतिमात्रै होइन, अहिलेको सत्ता गठबन्धनबीच प्रचण्डले दुई वर्ष, नेकपा एकीकृत समाजवादीका माधव नेपालले बीचमा एक वर्ष र अन्तिममा दुई वर्ष देउवाले सरकारको नेतृत्व गर्ने समझदारी भएको बताइन्छ । तर, एमालेपछि कांग्रेसको सहयोगमा प्रचण्डले सरकार चलाएको ९ महिना पनि नबित्दै शेखरले हरेकजसो सार्वजनिक मञ्चमा बोल्दा सरकार परिवर्तनको विषयलाई प्राथमिकता साथ उठाउँदै आएका छन् ।

साउन पहिलो साता बसेको केन्द्रीय समितिमा नरम देखिएको यो समूहको अहिलेको संसदीय दलको नेता फेर्ने सक्रियता यसमै लक्षित रहेको नेताहरु बताउँछन्। मंगलबार डा. शेखर कोइरालाले आफ्नो समूहको भेला डाकेर संस्थापन पक्षलाई नैतिक रुपमा कमजोर बनाउने रणनीति सुरु गरेका छन्। असोज ४ गते बस्न लागेको केन्द्रीय समितिमा संस्थापन इतर एकजुट भएर जाने निष्कर्ष बैठकले गरेको हो।

यसैबीच संस्थापनइतर पक्षको बैठकमा अहिलेको सत्तागठबन्धन तोड्नेबारे छलफल भएको छ । आगामी निर्वाचनमा एक्लै लडेर कांग्रेसले बहुमत ल्याउनुपर्ने भन्दै नेताहरुले गठबन्धनको विपक्षमा मत राखेका हुन् ।

कांग्रेस नेता शेखर कोइरालाले पार्टीको केन्द्रीय समिति बैठक बस्नुपूर्व बोलाएको इतर पक्षको भेलामा सहभागी अधिकांशले कांग्रेस एक्लै अघि बढ्नुपर्ने तर्क गरेका हुन् ।

‘सरकारमा संविधान नमान्ने, पार्टीमा विधान नमान्ने,’ बैठकपछि कोइराला पक्षका नेता डा. गोविन्द पोखरेलले भने, ‘कांग्रेसले सरकारमा बसेर पनि जनताको आवश्यकताअनुसार काम गरेन। सरकारमा राम्रो पर्फर्मेन्स भएन। पार्टी उस्तै जथाभावी चलाइरहेको छ। अनुशासनको कारबाहीको नाममा ताकी-ताकी कारबाही गरेका छन्।’

यो विषयमा केन्द्रीय समितिमा जोडदार माग उठाउने तयारी संस्थापन इतरको रहेको उनको भनाई थियो। अघिल्लो केन्द्रीय समितिमा डा शेखरसमेत पार्टी सभापति शेरबहादुर देउवाबारे मौन बसेका थिए। त्यतिबेला महामन्त्री गगन थापाले बालकृष्ण खाण बचाउन लागिपरेको भन्दै सभापति देउवाको कार्यशैलीमाथि विरोध जनाएका थिए। तर गगनमाथि अधिकांश केन्द्रीय सदस्यहरुले प्रहार गर्दा शेखर मौन थिए।

संसदीय दलमा गगन अघि सरेपछि शेखर र गगन औपचारिक कार्यक्रममा विरलै सँगै देखिन्थे। दुई नेता सँगै देखिन छाडेपछि कांग्रेसका पूर्व जिल्ला सभापतिहरुले अनुपम फुडल्यान्डमा खिर खाने कार्यक्रम राखेका थिए। तर गगन कार्यक्रममा देखिएनन्। शेखर गगन मिलाउन नेता अर्जुननरसिंह केसीले भदौ २० गते भेला आयोजना गरे। तर नेता शेखर इटालीटार पुगेनन्।

संस्थापन इतरमा फुटेर हिँड्दा कमजोर देखिएपछि शेखर र गगन फेरि एकजुट भएको बताइन्छ छ। बैठकमा सरकारले जनताको पक्षमा काम गर्न नसकेको विषयमा छलफल चल्दा कांग्रेस नेतृत्वकै समीक्षा गर्ने बेला भएको प्रसंग निस्कियो। यसमा संसदीय दलको नेता नै फेर्ने विषयमा नेताहरुबीच छलफल चल्यो। ‘संसदीय दलको नेता फेर्ने र कांग्रेसको नेतृत्वमा सरकार बनाउने विषयमा पनि छलफल भयो,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने।

यद्यपि केन्द्रीय समितिमा यस विषयमा प्रवेश गर्नुअघि सुरुमा सरकारको काममाथि प्रहार गर्ने तयारी इतरले गरेको ती केन्द्रीय सदस्यले बताए। कांग्रेसले स्वास्थ्य मन्त्री मोहन बस्नेतदेखि केही मन्त्रीलाई सरकारबाट फिर्ता गराउने तयारीसमेत गरेको ती केन्द्रीय सदस्यको दाबी थियो। यद्यपि ती मन्त्री अहिले शेखरसँग मन्त्री पद जोगाइदिन बिन्ती बिसाउन आइपुग्ने गरेको पनि ती नेताको दाबी थियो।

नेता र गठबन्धन फेर्ने हैसियत छ ?

आवश्यकता र अंकगणितभन्दा १५ औं महाधिवेशनमा कसरी बलियो हुने भनेर नेताहरूले आफू अनुकूलको कार्ड फ्याँक्न थालेको देखिएको छ । गत पुस ६ गते भएको संसदीय दलको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाले भारी मतले गगन थापालाई पराजित गरेका थिए । यस्तो नतिजाको ९ महिनाको समय पनि बितिसकेको छैन ।

दलको सो चुनावमा ८९ सांसदमा देउवाले ६४ र गगनले २५ मत मात्रै प्राप्त गरेका थिए । दुईतिहाइभन्दा बढी मतले जितेका देउवाविरुद्ध शेखर र गगनलाई बहुमत पुर्‍याएर दलको नेता फेर्न कठिन पर्ने देखिन्छ, किनकि ८९ सांसदमा शेखर पक्षमा ३३ सांसद हुँदा पनि गगनले २५ मत मात्रै पाएका थिए । यस्तोमा देउवालाई दलमा पछि पार्न ४५ सांसदको मत प्राप्त गर्नुपर्ने हुन्छ । यस्तोमा दुईचार सांसद तानेर मात्रै पनि पुग्ने अवस्था शेखर–गगनलाई छैन ।

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल पार्टी फुट्ने अवस्थाबाहेक शेखरले संसदीय दलमा बहुमत जुटाउन नसक्ने जिकिर गर्छन् ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि पार्टीले चाहेको लयमा चलेन भनेर असन्तुष्टि भए पनि सरकार फेर्ने विषय सभापति देउवाको मनमा नभएको बताए ।

‘सरकार लयमा चलेन भन्ने असन्तुष्टि छन् । यसैले सरकारलाई प्रभावकारी बनाएर लानुपर्छ भन्नेमा दुईमत छैन,’ विश्वकर्मा भन्छन्, ‘सरकारको विकल्प हुँदैन भन्ने होइन, सभापति र हामी त्यतातिर लाग्ने पक्षमा छैनौं । अभिव्यक्ति स्वतन्त्रता धेरै भएको पार्टीमा सरकार फेर्नुपर्छ भनेर बोल्न पाइन्छ ।’