शालीन सभामुखको छाप छोडेका नेताको अवसान, सुवास नेम्वाङको हृदयघातले निधन
पटक पटक सभामुख बनेर शालीन सभामुखको छवि बनाएका भद्र नेकपा एमालेका उपाध्यक्ष एवं भद्र नेता सुवास नेम्वाङको निधन भएको छ ।
राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको एमालेका अर्का उपाध्यक्ष विष्णु पौडेलले मूलखबरलाई बताए ।
बालुवाटार स्थित निवासमा हृदयघात भएलगत्तै उनलाइ महाराजगञ्ज स्थित त्रिवी शिक्षण अस्पतालमा लगिएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए । ‘घरमै हृदयघात भएका सुवास नेम्वाङलाई अस्पताल ल्याएपछि राति साढे २ बजे चिकित्सकले मृत घोषणा गरेछन्’ त्रिवी शिक्षण अस्पतालमा रहेका पौडेलले मूलखबरसँग भने । नेम्वाङको निधनपछि एमाले नेताहरु शिक्षण अस्पताल पुगेका छन् ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा इलामबाट विजयी नेम्वाङ नेकपा एमाले संसदीय दलका उपनेता थिए । २०७९ फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा एमालेको तर्फबाट प्रत्यासी थिए ।
२०६३ सालमा सम्पन्न जनआन्दोलनबाट पुनस्थापित प्रतिनिधि सभाको सभामुख बनेका नेम्वाङ त्यसपछि २०६४ र २०७० सालको संविधान सभाका अध्यक्ष थिए । वरिष्ठ अधिवक्ता समेत रहेका नेम्वाङ प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति समेत बनेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली राति नै त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।
पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।
इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल परेका थिए ।
२०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए ।
२०५६ को निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डययन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आएका थिए ।
उनी जनआन्दोलन ०६२– ०६३ सँगै पुनस्र्थापित संसदका सभामुख बनेका थिए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । चारपल्ट सभामुख बन्दा उनी सधैं सर्वसम्मत भएका थिए ।
वरिष्ठ अधिवक्ता समेत रहेका नेम्वाङ प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति समेत बनेका थिए ।
विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य बनेका उनी त्यस लगत्तै पुनः राष्ट्रियसभा सदस्य भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उनी संविधानसभा निर्वाचन २०६४ र २०७० मा पनि इलाम २ बाट नै निर्वाचित भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति पनि भएका थिए ।