सुशासनका लागि सरकारलाई समाजवादी मोर्चाको आड र कांग्रेसको साथ छ : उपेन्द्र यादव
मोरङ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सुशासनका लागि सरकारलाई समाजवादी मोर्चाको आड र कांग्रेसको साथ रहेको बताएका छन् । सरकार फेर्दै कुशासन अंगालिरहेको वर्तमान अवस्थालाई फेर्न समाजवादी मोर्चा गठन गरिएको पनि उनले बताए ।
समाजवादी मोर्चाले आज मोरङको विराटनगरमा आयोजना गरेको प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले पछिल्ला १६ वर्षमा १३ वटा शासन र सत्ता परिवर्तनले गर्दा देशमा सुशासनको अनुभूति नभएको बताए । सरकार बनाउने, सत्ता टिकाउने र गिराउने खेलमा लागेर आर्थिक वृद्धिदर र विकासको लक्ष्य प्राप्त गर्न नसकेको भन्दै उनले भने, ‘शासनका लागि संघर्ष गर्दै हिँडिरहँदा कुशासन बोकेर हिँडिरहेका छौँ ।’
समाजवादउन्मुख संविधान भए पनि सम्पन्नता र विपन्नताबीचको खाडल निकै बढेको भन्दै यादवले शिक्षा, कृषि, स्वास्थ्य, उद्योगधन्दाको क्षेत्र चौपट भएको टिप्पणी गरे । ‘ठूलो जनशक्ति विदेशमा गएर चर्को घाममा खुनपसिना बगाइरहेका छन्, नेपालमा जताततै अराजकता बढ्दै गएको र संविधानले ग्यारेन्टी गरेको आधारभूत आवश्यक्ता सरकारले प्रत्याभूत गराउन सकेको छैन,’ उनले भने, ‘विकास, समृद्धि र सुशासनको लक्ष्य प्राप्त गरेर राजनीतिक स्थिरता कायम गर्दै राजनीतिक, सामाजिक असमानता अन्त्यका लागि मोर्चा गठन गरिएको हो ।’
जनताले लामो संघर्षबाट प्राप्त गरेका उपलब्धि समाप्त गर्न चाहनेलाई जवाफ दिन पनि मोर्चा गठन भएको उनले बताए । देशको राष्ट्रिय समस्या समाधानका लागि प्रधानमन्त्री प्रचण्डलाई समाजवादी मोर्चाको आड र कांग्रेसको साथ रहेको भन्दै अध्यक्ष यादवले झिनामसिना र खुद्रे काममा नअल्झिन सुझाव दिए ।
प्रदेश नम्बर १ को नामको विषयमा विवाद भएकाले त्यसको समाधान खोज्न पनि उनले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराए ।
सभा अघि विराटनगर विमानस्थलमा आयोजना गरिएको पत्रकार भेटघाटमा अध्यक्ष यादवले अहिलेको शासकीय स्वरुपमा त्रुटि भएको भन्दै संविधान संशोधन आवश्यक रहेको बताएका थिए ।