मोरक्कोमा भूकम्प, मृतकको संख्या एक हजार नजिक
काठमाडौं । अफ्रिकी मुलुक मोरक्कोमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या एक हजार नजिक पुगेको छ । गृह मन्त्रालयका अनुसार हालसम्म ९०० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने खोज तथा उद्धारको काम जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान छ ।
शुक्रबार राति ११ बजेर ११ मिनेटमा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट मराकेस, अगादिर, कासाब्लांका, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया लगायत क्षेत्र प्रभावित भएका छन् । तर भुइँचालोमा ज्यान गुमाउने र घाइते भएकाहरु आधाभन्दा बढी अल हौज र ताराउदान्त प्रान्तका छन् ।
मानिसहरु सडक र सार्वजनिक स्थानमा पाल टाँगेर बसिरहेका छन् । पुराना भवन भएका पहाडी क्षेत्रमा भूकम्पबाट बढी क्षति भएको अधिकारीहरुले बताएका छन् ।
विश्वभरबाट मोरक्को सरकारप्रति सहानुभूति, खोज तथा उद्धारमा ऐक्यबद्धता र सहयोगको प्रतिबद्धता जनाउने क्रम जारी छ ।