कांग्रेस सहमहामन्त्री यादव आईसीयूमा, स्वास्थ्य स्थीर

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । खुकुरी प्रहारबाट घाइते भएका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई आईसीयूमा राखेर उपचार भइरहेको र स्वास्थ्य अवस्था स्थिर रहेको राष्ट्रिय ट्रमा सेन्टरले जनाएको छ । ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले प्रेस विज्ञप्ति जारी गरी सो जानकारी दिएका हुन् ।

आज दिउँसो रिपोर्टस् क्लबको साक्षात्कार कार्यक्रममा सहभागी भएर फर्किने क्रममा क्लबको कार्यालय अगाडि यादवमाथि खुकुरी प्रहार भएको थियो । उनलाई खुकुरी प्रहार गर्ने नुवाकोटका श्यामबाबु सापकोटालाई प्रहरीले सोही स्थानबाटै नियन्त्रणमा लिएको थियो ।

कांग्रेस सहमहामन्त्री यादवलाई भने तत्कालै राष्ट्रिय ट्रमा सेन्टर पुर्याइएको थियो । राष्ट्रिय ट्रमा सेन्टर पुर्याउँदा दिउँसो २ बजेर २० मिनेट भएको थियो ।

अस्पतालको विज्ञप्तिमा लेखिए अनुसार उनको टाउको र गर्धनमा धारिलो हतियार प्रहार भएको र त्यसका कारण गहिरो घाउ भई रक्तश्राव भएको थियो । टाउकोको सिटी स्क्यान गर्दा आन्तरिक चोट भने नदेखिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसपछि टाउकोको पछिल्लो भागमा रहेको घाउलाई न्युरो सर्जरी र अर्थोपेडिक सर्जरीका विज्ञ डाक्टरहरुले अप्रेसन गरेर रक्तश्राव रोकेका थिए । साथै घाउमा टाँका लगाइदिएका थिए ।

त्यसपछि निगरानीका लागि राष्ट्रिय ट्रमा सेन्टरकै आईसीयूमा राखेर चिकित्सकहरुले प्रत्यक्ष निगरानी गरिरहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अस्पतालले कांग्रेस सहमहामन्त्री यादवको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

?????????????????????????????????????????????????????????