वाह ! मेरो छिमेकी (कविता)

जुनु घिमिरे
भक्तपुर

ऊ, मेरो सबैभन्दा नजिकको छिमेकी
हाम्रा सिमानाहरू जोडिएका छन्
घर,आँगन,बारी,खेत सबैतिर
तरपनि,
आपसमा हाम्रो बोलचाल थिएन।
उसले र मैले एउटै स्कुलमा
एउटै कक्षामा पढ्यौँ
घर छेऊ क्याम्प एउटै मात्र थियो
त्यहाँ पनि सँगै भयौँ
तरपनि,न उसले मलाई बोलायो
नमैले, झुक्ने प्रयत्न गरेँ
बरु सानो सानो निऊ झिकेर,
एकअर्कालाई होच्याउन छेडेनौँ ।

उसले बिबाह गर्यो
मैले बिबाह गरेँ,
न उसको घरमा मैले पाइलो राखेँ
न उसले मेरो घर टेक्न जरुरी सम्झियो
हामीले,
आपसमा मिठो चोखो बाँडेनौँ
अंगालो मारेर कहिले हिडेनौँ
बरु छोराछोरीलाई सम्म साँध बारेर राख्यौँ ।

म उसलाई आफ्नो जीवनको सत्रुनै मान्थेँ
उसले पनि साथी पक्कै सम्झदैनथ्यो
थाहाछैन,
के कारणले हामीमा यति फाटो थियो ?
मलाई त ,हजुरबुबाले
त्यो सत्रुको घरमा नजानु भन्नुभएको थियो
उसलाई उसकै हजुरबुबाले के पढाएका थिए
बस् यति थाहा थियो
उसको परिवार र हाम्रो परिवार बर्षौँ देखी
टाढिएका थिए ।

कहिले खेतको आलिमा
कहिले घाँसको डालिमा
झगडा गरिरहयौ हामीले
जब जब भेटियौँ
झगडा गर्नकै लागि भेटियौँ
तर एकदिन,
घरमा कोही नभएको बेला
मेरो छोरो लडेर घाइते हुँदा
सबैभन्दा पहिला उसैले उठाएर
अस्पताल पुर्‍याएर भन्यो
साथी चिन्ता नलेऊ
केही परे मलाई सम्झनु
अनि पो झसङ्ग भएर
भित्र मनले,
कुण्ठित आवाजमा काप्दै एउटा शब्द निकाल्यो
वाह! मेरो छिमेकी ।

जुनू घिमिरे
धनकुटा
हाल दुवाकोट,भक्तपुर