एमाले लुम्बिनी प्रदेश अधिवेशन: अध्यक्ष चुन्न आज मतदान
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज (मंगलबार) मतदान हुने भएको छ। यसअघि सोमबार रातिदेखि नै मतदान हुने भनिएकोमा मंगलबार बिहान हुने गरी स्थगित भएको थियो।
मंगलबार बिहान ७ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिएका छन्। अधिवेशनबाट ५ जना पदाधिकारीसहित २०५ सदस्यीय प्रदेश कमिटी चयन हुनेछ। ५ जना पदाधिकारीका लागि १५ जनाको उम्मेदवारी परेको छ। पदाधिकारी र प्रदेश कमिटी सदस्यसहितका लागि ३६४ जनाको उम्मेदवारी परेको छ।
लुम्बिनी प्रदेशमा सहमतिबाट नेतृत्व टुंग्याउने प्रयत्न अन्तिम समयसम्म चलेको थियो। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनलाई सम्बोधन गर्दै सहमतिबाटै नेतृत्व टुंग्याउन भनेका थिए। तर, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको प्रतिष्ठाको लडाइँले निर्वाचन भएको एमालेका नेताहरूको भनाइ छ।
अध्यक्षका उम्मेदवार कँडेललाई पौडेल र रिजाललाई पोखरेलको साथ रहेको बताइन्छ।
पदाधिकारीका लागि यी हुन् उम्मेदवारहरू:
अध्यक्ष
राधाकृष्ण कँडेल
हरि रिजाल
उपाध्यक्ष
भोजप्रसाद श्रेष्ठ
पूजन विश्वकर्मा
विश्वराज बराल
शान्तकुमार वली
सचिव
सोमनाथ सापकोटा
लक्ष्मण आचार्य
उपसचिव/खुला
उपेन्द्रलाल कामी
पूर्ण बुढामगर
हिरा एसी
दुर्गाप्रसाद थारु
उपसचिव/महिला
बसन्ती अधिकारी
आरती पौडेल
लीला रानामगर