सरकारको कामबाट जनतामा उत्साह थपिएको छ : अनन्त
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं उपत्यका विशेष प्रदेश इन्चार्ज वर्षमान पुन अनन्तले सरकारले सुशासनका पक्षमा गरेको कामले जनतामा उत्साह थपिएको बताएका छन् ।
काठमाडौंको गोंगबुस्थित नयाँबसपार्क क्षेत्रमा आज आयोजित ‘जनतासँग माओवादी ः विशेष रुपान्तरण अभियान’को उदघाटन कार्यक्रममा पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले सुशासनका पक्षमा गरेको कामले जनतामा उत्साह बढेको बताएका हुन् ।
सरकारले जनताका पक्षमा पनि काम गर्दो रहेछ भन्ने सन्देश प्रवाह भइरहेको उनले बताए ।
माओवादीभित्र कोही भ्रष्टाचारमा संलग्न देखिए कसैले पनि उन्मुक्ति नपाउने पुनले स्पष्ट पारे । जनतामा ‘राज्य मेरो अभिभावक हो’ भन्ने भावना पैदा नगराएसम्म राजनीतिक नेतृत्वले जनविश्वास आर्जन गर्न नसक्ने भन्दै उनले राज्यप्रति जनतामा कम हुँदै गएको विश्वास अहिले पुनः जागृत भइरहेको बताए ।
संघीयता कार्यान्वयनमा देखिएको विकृति, शासकीय स्वरुपमा देखिएका समस्या, समावेशीतामा देखिएका समस्या समाधान गरेर कसरी वैज्ञानिक बनाउने भन्ने जिम्मेवारी अहिले राजनीतिक नेतृत्वमा आएको भन्दै उनले यसको जिम्मेवारी निर्वाह माओवादी केन्द्रले मात्र गर्न सक्ने बताए ।