पोखराबाट प्रचण्डको सन्देश- मोर्चामा सीमित हुँदैनौं, सबै कम्युनिस्टलाई जोड्छौं

मूलखबर संवाददाता
काठमाडौं

पोखरा । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै कम्युनिस्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने बताएका छन् ।

शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चाको गण्डकी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चालाई मोर्चामै सीमित नराखी सबै कम्युनिस्टलाई जोडेर जाने सपना रहेको बताए । ‘हाम्रो सपना समाजवादी मोर्चासँग मात्र सीमित रहँदैन,ु यहाँ सबै कम्युनिस्ट जोडेर जान्छौं । राष्ट्रवादी, देशभक्त र समाजवादतर्फ आस्था राख्नेलाई जोडेर एउटै कम्युनिस्ट पार्टी बनाउने उद्देश्य राखेका छौं ।’

उनले आगामी दिनमा पनि देशको नेतृत्व कम्युनिस्टले नै गर्नेगरी अघि बढ्ने बताए ।

एकता, संघर्ष र रूपान्तरण नै समाजवाद भएको भन्दै उनले कम्युनिस्ट एक ठाउँमा केन्द्रित हुने र समाजवादको नयाँ यात्रामा उभिने बताए ।

हतारमा पार्टी एकता हुँदा दुर्घटनामा पुगिएको उल्लेख गर्दै उनले मोर्चा तत्काल पार्टी एकता गर्ने पक्षमा भने नरहेको प्रधानमन्त्री प्रचण्डले बताए । अहिलेको मोर्चा विगतको जस्तो कमजोर नरहेको उनले बताए ।