महरापुत्र राहुल प्रहरीसमक्ष हाजिर, अनुसन्धानमा सघाउने बाचा
काठमाडौं । विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करीमा संलग्न भएको भनिएका एक चिनियाँ नागरिकसँग सम्पर्क भएको आरोपमा रोल्पाका राहुल महरा प्रहरीमा हाजिर भएका छन् ।
उनलाई अनुसन्धानका लागि बुधबार दिउँसो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिए । तर राहुलले भने अनुसन्धानमा सघाउन आफैं सिआइबीमा उपस्थित भएको बताएका छन् । उनलाई हिरासतमा राखी अनुसन्धान गर्ने अनुमति लिन जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।
गत वर्ष भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी दावासँग राहुलको पटक–पटक टेलिफोन सम्पर्क भएको मिडिया रिपोर्टहरु सार्वजनिक भएका थिए ।
राहुलले भने दावाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा आफ्नो सामान रोकिएको भन्दै छुटाइदिन भनेको र आफूले भन्सारका अधिकारीहरुसँग के सामान हो भनेर बुझेको मात्र बताउँदै आएका छन् ।
उनी नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा हुन् ।
उनका एक नजिककाे मित्रले भने- `अनुसन्धान प्रकृयालाई सहयोग गर्न राहुल महरा प्रहरी कार्यालयमा आफै उपस्थित हुनुभएको छ
सुन प्रकरणमा मुछिएको भन्दै विभिन्न मिडियाबाट तिव्र रुपमा दबाब आएपछि अनुसन्धान प्रकृयालाई सहयोग गर्न राहुल महरा प्रहरी समक्ष उपस्थित हुनु भएको छ ।
सुन तस्करहरु संग कुनै पनि अवैध सम्बन्ध नभएको बताउदै आउनुभएका महराले उक्त प्रकरण बारे निस्पक्ष अनुसन्धान होस भन्ने उद्देश्यका साथ प्रहरी समक्ष उपस्थित हुनु भएको हो ।