मानव मस्तिष्कमा जिउँदो जुका, सागसब्जीबाट सरेको अनुमान
काठमाडौं । अस्ट्रेलियाकी एकजना महिलाको मस्तिष्कमा जिउँदो जुका भेटिएको वैज्ञानिकहरूले बताएका छन् । मानव मस्तिष्कमा जिउँदो जुका भेटिनुलाई विश्वमै पहिलो घटना भनिएको छ ।
‘यो नयाँ सङ्क्रमण यसअघि मानव जातिमा भेटिएको अभिलेख छैन,’ शल्यक्रियामा संलग्न क्यानबरा अस्पतालका सङ्क्रामक रोगसम्बन्धी डाक्टर सञ्जय सेनानायकले बीबीसीसँग भनेका छन् ।
रातो रङ्गको तार जस्तो देखिने ८ सेन्टिमिटर लामो उक्त जुका ती महिलाको टाउकोको शल्यक्रिया गरेर गत वर्ष निकालिएको थियो ।
ती महिलामा अस्वाभाविक लक्षणहरू थिए । सुरुमा पेट दुख्ने, खोकी लाग्ने, रातिको समयमा पसिना आउने जस्ता समस्या देखिएको र पछि बिर्संदै जाने लक्षणहरू देखिएका थिए । त्यसपछि चिकित्सकहरुले परीक्षणको क्रममा मस्तिष्कको अघिल्लो भागमा अस्वाभाविक घाउजस्तो देखेका थिए । पछि त्यही अस्वाभाविक संकेत जिउँदो जुका भएको पत्ता लागेको थियो ।
शल्यक्रिया गरी तारजस्तो लामो चिज मस्तिष्कबाट निकाल्दा शल्यक्रियामा संलग्न टोलीका सदस्यहरु झस्किएको डा. सन्जय सेननायकले भनेका छन् ।
शल्यक्रियापछि ती महिलाको स्वास्थ्यमा राम्रो सुधार भइरहेको बीबीसीले जनाएको छ ।
सागसब्जीबाट सरेको अनुमान
वैज्ञानिकहरूका अनुसार ती महिलामा सागसब्जीबाट उक्त जुका सरेको हुन सक्ने अनुमान गरेका छन् । ती महिला एक तालको छेउमा बस्ने गर्थिन् र ताल वरपरको हरियो सागसब्जी तरकारीको रुपमा खाने गर्थिन् ।
अस्ट्रेलियामा पाइने ‘कार्पेट पाइथन’ नामक एक प्रकारको सर्पमा यस्ता जुकाहरू प्रायः भेटिने गरेको छ । उक्त सर्पबाट सागसब्जीमा र सागसब्जीबाट ती महिलामा जुका सरेको हुनसक्ने वैज्ञानिकहरुको अनुमान छ ।
अस्ट्रेलियाकी परजीवीविज्ञ मेहराब हुसेनले ‘इमर्जिङ इन्फेक्सियस डिजिजेज’ जर्नलमा लेखेको एक लेखअनुसार यस्तो परजीवी पाइने सर्पको बिस्टा वा जुकाको अण्डा भएको साग खाएका कारण महिलाको शरीरमा उक्त जुका पुगेको आकलन गरिएको छ ।
यो घटना मानिसहरुका लागि चेतावनी भएको वैज्ञानिकहरुले बताएका छन् ।