जनता प्रचण्ड र वरिपरिका नेताले नेतृत्व गरेको हेर्न चाहन्छन्- वर्षमान पुन
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले जनताको अपेक्षा अहिले पनि माओवादीले सरकारको नेतृत्व गरोस् भन्ने रहेको बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले जनताको अपेक्षा अहिले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल र दाहाल वरपरका नेताहरुले नेतृत्व गरोस् भन्ने अपेक्षा रहेको बताए ।
उनले जनतको सो अपेक्षामा ठेस लाग्न दिनु नहुने बताए ।
पुनले पार्टीका कमजोरीलाई सच्याएर आगामी दिनमा देशको राजनीति सही दिशामा लैजानुपर्ने बताए । पुनले देश राजनीतिक सिस्टममा चल्नुपर्ने बताए । राजनीतिक विधिमा पार्टी र निश्चित सामाञ्जस्यतामा समाज चल्नुपर्ने उनको भनाइ थियो ।
पुनले भने, ‘जनताको अपेक्षा के छ भने आज पनि माओवादीले नेतृत्व गरोस् । आज पनि कमरेड प्रचण्ड र प्रचण्ड वरिपरीका नेताहरु नेतृत्व गरोस् भनेर सोचेका छन् । त्यो अपेक्षा छ । त्यो अपेक्षामा अलिकति मात्रै ठेस लाग्ने ठूला प्रश्न उठेका छन् । हामी हाम्रो पार्टीका कमजोरीहरु हेर्दा द्वन्द्वात्मक भौतिकवादी कोणबाट हेर्नुपर्छ । आजको स्थिति, ऐतिहासिक पृष्ठभूमि, जनताका अपेक्षा र समकालीन एजेण्डाहरु वरिपरीबाट हेर्ने हो भने हामी सही ठाउँमा पर्छौं नत्र खत्तम नै भयौँ, सिद्धियौँ की के हो ? भन्दा एकातिर नकारात्मक प्रवृत्ति र कुण्ठा, अराजकता देखापर्ने र अर्कोतिर अरु नै कोही छन् की भन्दा कोही पनि नदेखिने, नेता पनि नदेखिने राजनीति पनि नदेखिने हुँदा एक खालको शुन्यता हुन्छ । हामीले भनेको राजनीतिक सिस्टममा देश चल्नुपर्छ । राजनीतिक विधिमा पार्टी चल्नुपर्छ । निश्चित सामाञ्जस्यतामा समाज चल्नुपर्छ । हामी देशको अग्रगामी रुपान्तरणका पक्षपाती हौँ ।’
उपमहासचिव पुनले सत्ता गठबन्धन, समाजवादी मोर्चा र पार्टीलाई समन्वयात्मक ढंगबाट अघि बढाउँदै लैजाने आजको पार्टीको कार्यदिशा भएको बताए ।
विभिन्न कोणबाट माओवादी केन्द्रलाई अहिलेको सरकारबाट बाहिर राखेर अरु पार्टीलाई सरकारमा ल्याउन शक्ति केन्द्रहरु लागेको बताउँदै उनले भने, ‘दुई–तीनवटा अप्सनहरुमा सल्लाह गरिराख्या छन् । तर ढुक्क हुनुस्, यो गठबन्धन भत्किने सम्भावना छैन किनभने हाम्रो सम्मानीय प्रधानमन्त्रीले, अहिलेको सरकारले सुशासनको पक्षमा, भ्रष्टाचारको विरुद्धमा काम गरिरहेकाले जनसमर्थन छ । त्यसैले उनीहरुलाई सजिलो छैन ।’
यो माओवादी केन्द्रको शक्ति भएको भन्दै उनले यो शक्तिलाई जनतासँग अझै नजिकबाट जोडेर संगठन सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याए । त्यसैका लागि माओवादी केन्द्रले जनतासँग जोडिन तीन महिने विशेष अभियान सन्चालन गरिरहेको जानकारी उनले दिए ।
माओवादीले पुरानै शक्ति आर्जन गर्न नसके, कुनै पनि बेला माओवादी माथि प्रहार हुन सक्ने उनको भनाइ छ । यो विशेष अभियानको क्रममा जनतामा जान, उनीहरुका समस्या पहिल्याउँदै समाधान गर्न र संगठनमा जोड्दै पार्टीलाई सुदृढ बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिए ।
आफ्नो कुनै योजना भए पार्टी संगठनमा लागु गराउन र काम गर्न नसक्ने भए अरुलाई काम गर्न दिन उनले निर्देशन दिए । पद ओगट्ने तर काम नगर्ने शैलीका कारण पार्टी खुम्चिँदै गएको भन्दै उनले यो अभियान हरेक माओवादी नेता–कार्यकर्ताका लागि आफू रुपान्तरित हुने अवसरसमेत भएको बताए ।
सिंगो देश गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता लगायतका माओवादीका एजेण्डामा चलिरहेको कुरा जनतालाई बुझाउन र सरकारले गरिरहेका राम्रा कामको प्रचार गर्न पनि उनले निर्देशन दिए ।