एमाले लुम्बिनीको अधिवेशनः शंकर पोखरेल र विष्णु पौडेलबीच गुट भिडन्तको प्रहसन
एमालेकाे भावी नेतृत्व लिने दाैडमा देखिएका उपाध्यक्ष विष्णु पाैडेल र महासचिव शंकर पाेखरेल प्रदेशमै आफ्नाे शक्ति देखाउन कुन स्तरको प्रतिस्पर्धामा छन् भन्ने कुरा पार्टीको लुम्बिनी सम्मेलनको तयारीमा देखिएको छ। अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट विदा लिए यी दुईमध्ये एक अध्यक्ष हुने आकल गरिन्छ ।
एउटै प्रदेश लुम्बिनीका यी दुवै नेताहरू प्रदेशमा शक्ति आर्जन गरी एमालेकाे नेतृत्वमा स्थापित हुन लागिपरेको प्रदेश अधिवेशनमा देखिएको छ। यही भदौ १६ र १७ गते लुम्बिनी प्रदेशको पहिलो अधिवेशन बुटवलको रामनगर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ।
प्रदेशभर प्रतिनिधि छनोट भइसकेकाले नेतृत्वका आकांक्षीहरू शक्ति केन्द्रलाई प्रभावमा पार्दै नेतृत्व आफ्नो पक्षमा पार्न केन्द्रित छन्। लुम्बिनीबाट पार्टी पदाधिकारीमा रहेका नेताहरू, उपाध्यक्षहरू युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, (निलम्बित टोपबहादुर रायमाझी) सहित पोलिटब्युरो सदस्यहरू लीला गिरी, खिमलाल भट्टराई, सूर्य थापा, ठाकुर गैरे लगायतका नेताहरू आफू निकटका नेताहरू नेतृत्वमा आओस् भन्ने चाहन्छन्।
त्यही अनुरूप आकांक्षीहरू आफ्नो ‘फेवरको गुट’ बनाएर लविङ गर्न लागि रहेका छन्। प्रदेशको पहिलो अधिवेशनमा एमाले भित्र स्पष्ट गुट देखा पर्ने छनक पनि देखा परेको छ। ‘साइलेन्ट किलर’ जस्तै एमाले लुम्बिनीमा महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलबीच गुटको लडाई छ।
प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा टिकट वितरण गर्दा आफ्नो शक्ति देखाएका शंकर पोखरेलले जसरी पनि आफ्नो गुटलाई नेतृत्वमा ल्याउन चाहेका छन्। तत्कालीन नेकपा हुँदा महासचिव रहेका पौडेल (हाल उपाध्यक्ष) पोखरेलको यो रवैयादेखि खुसी भने छैनन्। स्थानीय तहको निर्वाचनमा कतिपय टिकट छिनोफानो भएको अवस्थामा समेत पोखरेल हावी हुँदा पौडेल पक्षधरले टिकट पाएनन्। त्यसैले पौडेलले पनि प्रदेश नेतृत्व आफ्नो पक्षले गरोस् भन्ने चाहेका छन्।
प्रदेश अध्यक्ष यस पटक एमालेले शक्तिशाली बनाएको छ। टिकट वितरणका सिफारिस समेत प्रदेश नेतृत्वले गर्ने अधिकार छ। खास गरी पहिलो अधिवेशनको नेतृत्वको दौडमा अहिलेका अध्यक्ष राधाकृष्ण कँडेल र लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा केन्द्रीय सदस्य हरि रिजाल छन्। उनीहरूलाई मुख्य दाबेदारको रुपमा हेरिएको छ।
लुम्बिनीकाे अधिवेशनले अन्य प्रदेशकाे अधिवेशन कसरी अगाडि बढ्छ भन्ने देखाउने छ । लुम्बिनी प्रदेशको अधिवेशनले पौडेल र पोखरेल पक्षमा कसको पल्ला भारी भन्ने सिनारियो देखाउने एक स्थायी कमिटी सदस्य बताउँछन् ।
लुम्बिनीबाट सबै पदाधिकारीले संघको निर्वाचन जित्दा महासचिव पोखरेले भने हारेका थिए । महासचिवको हारमा पनि कहिँ न कहिँ उपाध्यक्ष पौडेलको हात रहेको एमाले वृत्तमा चर्चा हुने गर्छ ।
असोजमा एमालेको कर्णाली प्रदेशले अधिवेशन हुँदैछ । असोज १० र ११ गते वीरेन्द्रनगरमा अधिवेशन हुनेछ । यो प्रदेशबाट एमालेको पदाधिकारी भने कोही छैन । स्थायी कमिटी सदस्यमा यमलाल कँडेल छन् ।
कर्णाली प्रदेशमा पनि केन्द्रका दोस्रो पुस्ताको नेताहरूको गुटबन्दी छ । कँडेल भने दुवै पक्षसँग असन्तुष्ट मानिन्छन् । पौडेल र पोखरेलसहित कँडेलले पनि आफ्नै तरिकाले पार्टी चलाउछन् । कर्णालीको प्रदेश अधिवेशनमा पनि पौडेल र पोखरेलबीच आफ्नो समूहको नेतालाई नेतृत्वमा स्थापित गर्ने होडबाजी चल्ने देखिन्छ ।
यो प्रदेशबाट कँडेल स्थायी कमिटी सदस्य हुन् भने गुलाबजंग शाह, लक्ष्मी पोखरेल, मोहन बानियाँ र भैरवसुन्दर श्रेष्ठ पोलिटब्यूरो सदस्य छन् । विष्णु रिजाल, निरज आचार्य, धर्मराज रेग्मीलगायतका युवाहरू केन्द्रीय सदस्य छन् । केही प्रदेश सदस्य र केन्द्रीय सदस्यहरू विष्णु रिजाल, निरज आचार्य, राजबहादुर बुढालगायतका नेताहरू प्रदेश अध्यक्षका आंकाक्षी छन् । प्रदेशमा प्रतिनिधि छनाेटको प्रक्रिया नै सुरु नभएकाले अहिले नै केही भन्न नसकिने केन्द्रीय सदस्य निरज आचार्यले बताए । उनले भने, ‘प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनाेट नै नभएकाले अहिले नै प्रदेश अधिवेशनका नेतृत्वको बारेमा कुरा गर्नु सान्दर्भिक नै हुँदैन ।’
नेताहरूले अहिले नै कुन नेता कसको पक्षको हो भन्ने खुली नसकेको बताए पनि पौडेल र पोखरेलको आन्तरिक गुटबन्दीको असर कर्णाली प्रदेशमा पनि जारी रहेको एक प्रदेश कमिटी सदस्य बताउँछन् ।
जनप्रतिनिधिले पार्टीको कार्यकारी भूमिका नपाउने एमालेको निर्णयले धेरै जनप्रतिनिधिहरू नेतृत्वको दाबीबाट नै बाहिर हुने छन् ।
लुम्बिनीमा केन्द्रीय सदस्य पनि अध्यक्षको दाबेदार भएकाले कर्णालीमा पनि केन्द्रीय सदस्यहरूमध्ये पनि अध्यक्ष हुने बाटो खुलेको एक केन्द्रीय सदस्यले बताए ।
कर्णालीमा नेताहरू बाहिर कोही कसैको पक्षमा नखुले पनि आन्तरिक रुपमा पौडेल र पोखरेल पक्षमा छन् । कर्णालीमा पोखरेल पक्ष अलि बलियो रहेको बताइन्छ । युवा संघको सम्मेलनमा पनि स्थानीय नेताले भनेअनुसार नेतृत्व चयन भएन । पोखरेलले आफू अनुकल नेतृत्व चयन गरेका थिए ।
स्थानीय र संघ र प्रदेशसभामा टिकट वितरणमा पनि पोखरेल हाबी भएकाे एक स्थानीय नेता बताउँछन् । ती नेताले भने, ‘महासचिव कमरेडले एकलौटी रुपमा टिकट वितरण गरेको भन्दै अहिले पनि अर्को प्रक्षले प्रदेशमा विरोध गर्छन् । अब प्रदेश सम्मेलनमा पनि त्यो नहोला भन्न सकिँदैन ।’
पौडेल र पोखरेलबीचको शक्तिको लडाइँ सबै प्रदेशको अधिवेशनमा देखिने छ । कर्णालीमा विष्णु रिजाल, निरज आचार्य, दल रावल, नगेन्द्र शाही, मीनबादुर शाहीले कित्ता किलियर गरेका छैनन् । रविन्द्रराज शर्मा, राजबहादुर शाही, नवराज रावतलगायतका नेताहरू पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीका नजिक मान्निछन् ।
यस्तै, अध्यक्षका दाबेदार लक्ष्मी प्रसाद पोखरेल, गुलावजंग शाह, डण्डीप्रसाद शर्मा, लालबहादुर महतारा, ध्रुवकुमार शाही महासचिव शंकर पोखरेल निकट मानिन्छन् ।
ओलीवाहेक अरुलाई मञ्चमा ‘नो ईन्ट्री’
प्रदेशको प्रथम अधिवेशनमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शीर्ष नेताहरू बुटवल आउने निश्चित भइसकेको छ।
एमालेले हालै मात्र घोषणा गरेको आफ्नै नियमको पालना बुटवलबाट गर्दैछ। मञ्चमा एक जना वक्ताबाहेक कोही पनि मञ्चमा नहुने र सबै प्रतिनिधि रोहमा हुनेछन्। लुम्बिनी प्रदेश अधिवेशनमा प्रदेशका १०९ वटा स्थानीय तहबाट प्रति १०० पार्टी सदस्यबाट एक जना प्रतिनिधि छनोट शनिबार नै भइसकेका छन्।