पत्थरीको अप्रेसन गर्न भर्ना भएका बिरामीको मिर्गौला निकालिएपछि…
११ भदौ, कैलाली । कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिका डाक्टरले एक बिरामीको मिर्गौलाको पत्थरीको अपरेसनको क्रममा मिर्गौैला नै झिकिदिएका छन् । मिर्गौैला झिकिएका ती बिरामीको मृत्यु भएको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको डाक्टरको लापरवाहीबाट आइतबार राति मृत्यु भएको बिरामीका भतिजा राजकुमार चौधरीले जानकारी दिए ।
बिरामीका आफन्तका अनुसार ऐजनकुमार चौधरी घरको सिँढीबाट लडेर चोट लागेपछि उपचारका लागि धनगढीको स्वस्तिक अस्पताल लगिएको थियो । स्वास्थ्य परीक्षणपछि डाक्टरहरुले डाक्टरहरुले उनको दायाँ मिर्गौलामा एउटा र वायाँ मिर्गौलामा दुईवटा पत्थरी देखिएको बताएका थिए ।
त्यसपछि ९ गते शनिबार बिहान ११ बजे बिरामीलाई अस्पताल भर्ना गरिएको थियो। सोही दिन दिउँसो १ः३० मा शल्यक्रिया कक्षमा लगिएको थियो।
‘आइतबार दिउँसो ३ बजेतिर अप्रेसन गर्ने बेलामा मिर्गौलाको नसा काटिएर धेरै रगत बग्यो । त्यसपछि डाक्टरले फेरि अप्रेसन गरेर मिर्गौला नै झिकिदिए । पछि काका बित्नुभयो,’ चौधरीका भतिजा राजकुमार चौधरीले भने ।
अस्पतालका अध्यक्ष महेश जोशीले पनि अप्रेसनका क्रममा अत्यधिक रक्तस्राव भएपछि वायाँ मिर्गौला झिक्नुपरेको र बिरामीको मृत्यु भएको स्वीकार गरे ।
बिरामीका आफन्तहरुका अनुसार अप्रेसन सकिएपछि डाक्टरले सुरुमा अप्रेसन राम्रो भयो भन्दै मिर्गौलाबाट झिकेको पत्थरी देखाएका थिए । त्यतिबेला आफन्तहरु खुसी थिए । अप्रेसन सकिएको भनिएको करिब एक घन्टापछि बिरामीका आफन्तलाई भेट्न दिइएको थियो । बिरामी ऐजन कुमार चौधरीले पेट दुख्यो भनेपछि आफन्तले नर्सहरुमार्फत् डाक्टरहरुलाई बोलाएका थिए । डाक्टरले भनेपछि नर्सले नदुख्ने सुई लगाइदिएका थिए ।
तर राति आठ बजेसम्म पनि दुखाइ कम नभएपछि र बिरामीको पेट फुल्लिन थालेपछि डाक्टरहरु र बिरामीका आफन्तहरु आत्तिएका थिए । एकछिनपछि डाक्टरले ‘किड्नीको नसा काटिएर रक्तस्राव भयो, अब बिरामीको ज्यान रोज्ने कि किड्नी ? भनेर पो भन्न थाले,’ बिरामीका भतिज राजकुमारले भने, ‘त्यसपछि हामीले किड्नी झिकेर निको हुने भए बरु किड्नी झिकिदिनुस् भन्यौं ।’त्यसपछि राति २ बजेतिर फेरि अप्रेसन गरेर बायाँ मिर्गौला डाक्टरहरुले झिकिदिएको उनको भनाइ छ ।
मृतक चौधरीकी छोरी सुस्मा दहितले आफ्नो बुवाको दोस्रो शल्यक्रिया गरेर एउटा मिर्गौला झिकिएको बताइन्।
त्यसपछि पनि निको नभएको र बिरामी गम्भीर हुँदै ज्यान गएको आफन्तहरुको भनाइ छ । ‘बिरामीलाई आईसीयूमा राखिएको थियो । हामी भेट्न जाँदा उहाँको श्वास मात्रै बाँकी थियो,’ चौधरीले भने, ‘दिउँसो २ बजेतिर डाक्टरले अब बचाउन सकिँदैन भन्न थाले ।’
‘बिरामीलाई बचाउन मिर्गौला झिक्नुपर्ने बताएपछि हामीले हुन्छ भनेर मन्जुरी दिएका हौँ,’ मृतक चौधरीकी छोरी सुस्मा दहितले भनिन्, ‘दोस्रो मिर्गौला गरेर मिर्गौला झिकेपछि बुवा होसमा नै आउनु भएन। अस्पतालको लापरबाहीले बुवाको ज्यान गयो ।’
अस्पतालमा कार्यरत सर्जन डाक्टर जोनस तिवारीको टोलीले चौधरीको शल्यक्रिया गरेको आफन्तले बताएका छन्।मृतक चौधरीका चार छोरी र दुई छोरा छन् ।