सुशासनको यात्रामा एक पाइला अघि बढ्यौं : प्रधानमन्त्री प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं

१० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनको यात्रामा सरकारले थप एक पाइला अघि सारेको बताएका छन् । ललिता निवास जग्गा हिनामिना प्रकरणका आरोपीहरुविरुद्ध अदालतमा मुद्दा दर्ता भएपछि प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।

ललितपुरको भैंसेपाटीमा निर्माण भएका प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको आवासीय भवन उदघाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘आजको दिन ललिता निवास प्रकरणको सबै अभियोजन सरकारी वकिल कार्यालयले अदालतमा दर्ता गरेको दिन हो । यस हिसाबले आज सरकारले सुशासनमा एक पाइला अघि सारेको छ । मैले देशको कार्यकारी प्रमुखको हैसियतले नेपाललाई एउटा समृद्ध, सुसंस्कृत र विधिविधानमा चल्ने देशको रुपमा विश्वसामु चिनाउन चाहेको छु ।’

उनले सबै दलहरूसँग समन्वय गरेर नेपाललाई एउटा समृद्ध, सुसंस्कृत र विधि विधानमा चल्ने देशका रुपमा विश्वसामु चिनाउने आफ्नो चाहना रहेको बताउँदै त्यस कार्यमा सबैको साथ आवश्यक रहेको बताए ।

संघीयता संस्थागत गर्ने बाटोमा पनि सरकार अघि बढेको बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रदेश र स्थानीय तहको समन्वयले संघीयतालाई थप मजबुद गर्दै सुशासन कायम राख्न सकिने बताए ।