समाजवादी मोर्चाको पहिलो सभामा प्रचण्डको सन्देशः सामाजिक सञ्जालबाट प्रतिक्रान्ति नहोस् !
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरु उल्ट्याउने गरी प्रतिक्रान्तिकारी शक्तिहरु झन् सक्रिय हुन थालेको बताएका छन्। पर्साको वीरगञ्जमा शुक्रबार समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधनका क्रममा सामाजिक सञ्जालको दुरुपयोग गरेर क्रान्तिलाई बदनाम गर्न खोजिएको पनि गुनासो गरे।
‘पछिल्लो समय सामाजिक सञ्जालबाट मानिसहरुले क्रान्तिलाई बिद्रुप गर्न लागेका छन्। क्रान्तिलाई बदनाम गर्न लागेका छन्’, उनले भने, ‘प्रतिक्रान्तिकारी शक्तिहरु पहिलेभन्दा १० गुणा शक्तिसहित लागेका छन्। प्रतिक्रान्ति रोक्न पुरानै शैली र मान्यताबाट नसकिने अवस्था आइसक्यो।’
उनले सँगै रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालतिर लक्षित गर्दै तत्कालीन अवस्थामा एमालेमा भए पनि उनी जनयुद्ध र जनआन्दोलनका नेता भएको टिप्पणी गरे। जनयुद्ध र जनआन्दोलनलाई मिलाएर जनक्रान्ति गर्ने गरी माधव नेपालसहित आफूहरु अघि बढेको पनि उनले बताए।
प्रचण्डले वर्तमान सरकारले राम्रा काम गरेका कारण वर्तमान सरकार ढाल्न केही व्यक्तिहरु धुप हालेर हिँडेको पनि बताए। बिभिन्न प्रकरणको फाइल खोल्नेदेखि बिभिन्न क्षेत्रमा सरकारले राम्रा काम गरेकाले एकथरी मान्छेहरु वर्तमान सरकार ढाल्न धुप हालेर हिँडेको उनको भनाई छ।
प्रचण्डले अब आफुलाई मुलुका लागि राम्रो बाहेक अरु केहि गर्नु नभएको बताए। जीवनको उत्तरार्धमा राम्रो काम गरेर नेपाली जनताले सम्झनेलायक काम गर्ने विचार रहेको भन्दै प्रचण्डले देशका लागि राम्रा काम गरेर ढुक्कसँग मर्ने रहर मात्रै रहेको धारणा राखे।
प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चालाई सुदृढ गर्दै मोर्चाले समाजवादीको क्रान्ति गर्ने स्पष्ट पारे। विश्वभरका नेपाली राजदूतहरुलाई काठमाडौं बोलाएर विदेशमा जाने प्रक्रियालाई पारदर्शी तवरले अघि बढाउने निर्णय गरिएको उनले बताए। विभिन्न अवरोध, अड्चनका बाबजुद नक्कली भुटानी शरणार्थी घटनालाई छानबिन गरी निष्कर्षमा पुर्याइए जस्तै ललिता निवास काण्ड र सुन तस्करी काण्डलाई सरकारले निष्कर्षमा पुर्याउने उनले बताए ।
यसबाहेक सरकारले मधेसमा ठूलो समस्याको रुपमा देखिएको मिटरब्याजी पीडितहरुको समस्या ऐन बनाएर सम्बोधन गर्ने प्रयास गरिएको र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने कामलाई अघि बढाएको प्रधानमन्त्री दाहालले चर्चा गरे । मधेसको विकासका लागि आफू चिन्तित रहेको बताउँदै उनले निजगढ विमानस्थल निर्माणका लागि बिहीबार नै मन्त्रिपरिषद्बाट निर्णय भइसकेकाले काम छिट्टै अघि बढ्ने दाबी गरे ।
मधेस प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरी राहत प्याकेज ल्याउने तयारी भइरहेका बेला ठूलो वर्षा र बाढी आएकाले त्यो तत्कालका लागि रोकिएको उल्लेख गर्दै उनले एक दुई दिनभित्रै उक्त निर्णय गरिने र मधेसका किसानले राहत पाउने विश्वास व्यक्त गरे । मधेसमा सिँचाइ गर्न सुनकोशी–मरिन डाइभर्सनको कामलाई तीव्रता दिएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले निजगढ–काठमाडौँ फास्ट ट्रयाकको काम छिट्टै सम्पन्न हुने बताए ।
लामो समयदेखि रोकिएको सङ्घीय शिक्षा ऐन, सङ्घीय निजामती ऐन र प्रहरी समायोजन ऐन तत्काल संसद्बाट पारित गरिने प्रतिबद्धता व्यक्त गर्दै उनले तीनवटै ऐन पारित गराइ कार्यान्वयन गर्न सरकार दृढ रहेको बताए । संविधान निर्माणका क्रममा आफ्नो पार्टीले केही असहमति राखेर पास गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संविधानमा रहेको त्रुटि सच्याउन र संविधानलाई व्यवस्थित रुपमा संशोधन गर्न सरकार, सदन र सडक तीनवटै मोर्चाबाट पहल र प्रयास आवश्यक रहेको जिकिर गरे ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अझै संविधानको अपब्याख्या गर्ने र सङ्कटमा पार्ने काम भइरहेकाले संविधानको रक्षा गर्न चार दलीय समाजवादी मोर्चा बनाएको उल्लेख गरे । जनताको जीवनस्तरमा परिवर्तन ल्याउन र समृद्धि मुलुक बनाउनु मोर्चाको पहिलो कार्य नीति रहेको उल्लेख गर्दै मोर्चाका अध्यक्षसमेत रहेका अध्यक्ष नेपालले भने, “अब कुनै पनि व्यक्ति दुखित हुन नपरोस्, अपमानित महसुस गर्न नगरोस्, बेरोजगारी नहोस् भन्ने चाहनाका साथ मोर्चा बनाएका छौँ ।” देशमै स्वरोजगारी सिर्जना कामलाई तत्काल अघि बढाउनुपर्नेमा उनको जोड थियो ।
वर्तमान सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानलाई मोर्चाको साथ रहने अध्यक्ष नेपालले उद्घोष गरे । वर्तमान गठबन्धनको सरकार पाँच वर्ष चल्ने दाबी गर्नुहुँदै उनले सरकारलाई जनताको चाहना, इच्छाअनुसार सुशासन र समृद्धिको यात्रामा अघि बढ्न सुझाव दिए ।
कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिताको संस्थागत गर्दै सफल कार्यान्वयनका लागि समाजवादी मोर्चा बनाएर अघि बढेको बताए । बलिदानीबाट प्राप्त उपलब्धि सङ्कटमा पर्न लागेकाले त्यसको रक्षाका लागि मोर्चा बनाउनुपरेको उल्लेख गर्दै उनले सङ्घीयता मजबुत बनाउनु र सुशासन कायम गर्नु मोर्चाको लक्ष्य भएको बताए । मुलुकमा गणतन्त्र स्थापना भएको १५ वर्ष पुग्दा पनि मधेसी लगायतका उत्पीडित वर्ग, समुदायले अझै अधिकार प्राप्त गर्न नसकेको गुनासो उल्लेख गर्दै उनले समावेशिताको नाममा केवल बाध्यात्मक कुरालाई मात्र कार्यान्वयन गरिँदै आएको दाबी गरे ।
मधेसको विकासविना मुलुकको विकास सम्भव नभएको जिकिर गर्दै अध्यक्ष यादवले मधेसमा सञ्चालित योजना समयमा सम्पन्न नहुने परिपार्टीको अन्त्य हुनु जरुरी रहेको बताए ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले नेपाली विशेषतायुक्त समाजवाद स्थापना गर्ने मुख्य उद्देश्यका साथ मोर्चा बनाएको बताउँदै दलाल पुँजीवादले मुलुकलाई निकास दिन नसक्ने भएकाले त्यसका विरुद्ध समाजवादी मोर्चा निर्माण गरेर अघि बढेको दाबी गरे ।
नेपालको मौलिकता र संस्कृतिमाथि भूमण्डलीकृत साम्राज्यवादी शक्तिहरुबाट हमला भइरहेको जिकिर गर्दै उनले मुलुकलाई सङ्कटबाट मुक्ति दिलाउन र जनताको चाहना, इच्छा पूरा गर्न आफूहरुले मोर्चा बनाएको चर्चा गरे ।
कार्यक्रममा जसपाका नेता तथा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले सङ्घीयताको कार्यान्वयन भए पनि प्रदेश सरकारले अझै संविधान प्रदत्त अधिकार पाउन नसकेको गुनासो गर्दै तत्काल प्रदेश सरकारलाई संविधाले दिएको अधिकार हस्तान्तरण गर्नुपर्ने बताए ।
मधेस प्रदेशस्तरीय मोर्चा घोषणा
समाजवादी मोर्चाले आज मधेस प्रदेशस्तरीय समाजवादी मोर्चाको घोषणा गरेको छ । मोर्चाद्वारा वीरगञ्जमा आज आयोजित सन्देशसभामा मोर्चामा आबद्ध चारवटै दलबाट तीनरतीन जना रहने गरी १२ सदस्यीय मधेस प्रदेशस्तरीय मोर्चाको घोषणा गरिएको हो ।
मोर्चामा माओवादी केन्द्रबाट लिलामणि पोखरेल, अशोक जयसवाल र रामकुमार शर्मा, एकीकृत समाजवादीबाट धर्मनाथ साह, रामचन्द्र झा र सुधिर साह, जनता समाजवादी पार्टीबाट लालबाबु राउत, शैलेन्द्रप्रसाद साह र हरिनारायण यादव र नेकपाबाट सुदर्सन सिंह, विनोद सिंह र रामकुमारी सिंहलाई राखिएको छ ।
प्रदेशस्तरीय मोर्चाको संयोजक छरछ महिनामा फेरिने र पहिलो कार्यकालका लागि प्रदेश संयोजकको जिम्मा जसपालाई दिइएको माओवादी केन्द्रका नेता प्रह्लाद बुढाथोकीले जानकारी दिए ।