ब्रिक्स अर्थात् नयाँ विश्व व्यवस्थाः एकपछि अर्को अमेरिकालाई टक्कर दिने प्रस्ताव
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले अमेरिकी डलरको प्रभुत्वको सामना गर्न ब्रिक्स मुलुकका लागि साझा व्यापारिक मुद्रा सिर्जना गर्न बुधबार आह्वान गरेका छन्।
‘ब्रिक्स बिजनेस फोरम लिडर्स डायलग’मा लुला दा सिल्भाले ब्रिक्स राष्ट्रहरूबीच सीमापार व्यापारका लागि साझा मुद्रा निर्माण गर्न वकालत गर्दै अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको विकल्प खोज्नुपर्ने बताए।
उनले उदीयमान राष्ट्रहरुबीचको व्यापारलाई सहज बनाउन साझा मुद्राको प्रयोग गरिने बताए। लुला डा सिल्भाले भने,’हामी ब्रिक्स एक बहुपक्षीय संस्था बनोस् भन्ने चाहन्छौं, न कि कुनै विशेष क्लब । हामी केवल आफूलाई व्यवस्थित गर्न चाहन्छौँ।’
उनले गत अप्रिलमा व्यापारमा अमेरिकी डलरको निर्भरता कम गर्न सम्भवतः साझा क्षेत्रीय मुद्रा वा यस्तै संयन्त्र सिर्जना गर्ने प्रस्ताव गरेका थिए। मङ्गलबार नै ब्राजिलका राष्ट्रपतिले आफ्नो सरकारले अर्जेन्टिनासँगको व्यापारमा चिनियाँ युआन प्रयोग गर्ने सम्भावनाबारे विचार गरिरहेको घोषणा गरे।
‘हामी कुनै एक देशमा निर्भर हुन सक्दैनौं जहाँ डलर छ, जसले डलरमा अधिक पैसा प्रचलनमा ल्याउँछ, र हामी त्यो मुद्राको उतारचढावबाट बाँच्न बाध्य छौं । यो सही होइन’, उनले भने।
विश्व व्यापारमा कसरी कायम भयो डलरको साम्राज्य ?
दोस्रो विश्वयुद्धपछि विश्वव्यापारको अधिकांश कारोबार डलरमै हुन थाल्यो। सन् १९४४ मा ४४ मुलुका प्रतिनिधिहरू युद्धका कारण ध्वस्त अर्थतन्त्रलाई पुर्नजिवीत बनाउने अभियानमा जुटे। ठूलो अर्थन्त्र भएकाले अमेरिकाले सुनमा डलरको मुल्य तोक्ने र अन्य मुलुकले आफ्नो मुद्रालाई डलर अनुसार विनिमय गर्ने सहमति भएको थियो। यो सहमतिपछि राष्ट्रहरूले डलर सञ्चिति बढाउन दबाब पर्यो। यही सहमतिपछिनै डलर अन्तर्राष्ट्रिय शक्तिशाली मुद्रा बन्यो।
सन् १९७० सम्म आइपुग्दा अमेरिकासँग डलरलाई बलियो बनाउनेगरी पर्याप्त सुन थिएन। त्यसका बाबजुद डलर कारोबार बढ्दै गयो। अमेरिकाकद्य लचिलो वित्तिय बजार। सहज मापदण्ड र डलरको स्थिरताका कारण अन्य मुलुकहरू डलरमा आकर्षित भए। यसैले डलरको प्रभुत्व कायम राख्न अमेरिका सफल भयो।
डलरको विकल्प खोज्ने बहस यो नयाँ भने होइन। सन् १९७० मा ब्रेटन वुड्सको प्रणाली पतन भएपछिनै डलरको प्रभुत्वबारेको बहस सुरु भएको थियो।सन् १९९९ मा युरोपियन युनियनले युरो सुरू गरेपछि र सन् २००८ देखि २००९ को वित्तिय संकटका बेलापनि यसबारे बहस भएका थिए। सकंटको समयमा समेत डलरले आफ्नो प्रभुत्व बचायो। आजपनि विश्वका ६० प्रतिशत केन्द्रीय बैंकहरूमा विदेशी मुद्रा सञ्चित डलरमै छ। सन् २००० देखि यता यो संख्या १० प्रतिशतले घटेको हो। त्यसअघि डलर सञ्चिति ७० प्रतिशत थियो।
डलर सञ्चिति गुम्दा युरोले आफ्नो प्रतिशत वृद्ध गरेको छ। युरो सञ्चिति १८ बाट २० प्रतिशतमा पुगेको छ। यता, चीनको मुद्रा युआनले सन् २०१६ देखि आफ्नो उपस्थिति बलियो बनाएको छ।
विश्वव्यापी सञ्चितिको ३ प्रतिशत हिस्सा युआनले ओगटेको छ। ‘विश्व मुद्रा सञ्चिति अहिले बहुपक्षीयतर्फ अघि बढिरहेको छ। डलरको सञ्चिती घट्दा अन्यले त्यसको हिस्सा ओगटेका छन्,’ विज्ञ एलेसिया ग्रासिया हेरेरो भन्छन्। विगत केही वर्षयता डलरबाहेक अन्य मुद्रा सञ्चिति पनि वृद्धि भइरहेको देखिन्छ।
वित्तिय दुनिँयाको परमाणु डलरको विकल्प
युक्रेन युद्धको कारण देखाएर अमेरिकाले रूसलाई आर्थिक प्रतिबन्ध लगाउँदै स्वीफ्ट समेत रद्ध गरिदिएपछि डलरको विकल्प खोज्ने अभियानमा मलजल पुगेको विज्ञहरू बताउँछन्। ‘रूस माथिको अमेरिकी प्रतिबन्धनका कारण डलरको विकल्प खोज्ने अभियानमा अहिले मलजल पुगेको छ। अन्तर्राष्ट्रिय कारोबारको सहजीकरण गर्ने स्वीफ्टमै हैकम जमाएर अमेरिकाले त्यसलाई नयाँ परमाणु हतियारझैँ बनाउँदा अन्य मुलुकहरू विकल्प सोच्न हौसिएका हुन्,’ अर्थ राजनीति जानकार झोङ्यान जोउ ली भन्छिन्। उनी न्युयोर्कमा विदेश नीति सम्बन्धी अध्ययन गर्ने एक संस्थामा काम गर्छिन्।
अन्तर्राष्ट्रिय कारोबारमा स्वीफ्टको केन्द्रियता इमेलमा जी-मेलझैँ रहेको उनको बुझाइ छ। त्यसलाई एउटै मुलुकले नियन्त्रण गर्दा विद्रोहको स्थिति आउने उनको भनाइ छ।‘विश्वको एकीकृत वित्तिय प्रणाली एकपक्षीय रूपमा रद्ध गर्नु भनेको कसैको नसाबाट जबरजस्ती रगत तान्नुजस्तै हो। यसले विद्रोहको स्थिति ल्याउँछ,’ ली भन्छिन्।
हाल चीनले सेमिकन्डकटरको कारोबारमा अमेरिकाबाट प्रतिबन्ध व्यहोरिरहेछ। आगामी दिनमा आफुमाथि अमेरिकाले स्वीफ्टको हतियार प्रहार गर्न सक्नेमा चीन चिन्तितसँगै सचेत रहेको विज्ञहरूको बुझाइ छ। त्यसैले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनपनि डलरको विकल्प खोज्न उद्दत रहेको जेनेभा सेन्टरमा कार्यरतमा अहम्मद अली बताउँछन्।
उनी प्रतिबन्ध मामिलाका जानकार पनि हुन्। ‘स्वीफ्ट रद्ध हुने वित्तिकै अन्तर्राष्ट्रिय कारोबार गर्ने क्षमता गुम्छ। विश्व आपूर्ती श्रृंखलामा प्रभाव पर्दा मुलुकको अर्थतन्त्रनै डामाडोल हुने स्थिति आउनसक्छ,’ उनले भने।
युआनको समय
चीन अमेरिकी ट्रेजरी बोन्डबाट विस्तारै बाहिर आउन चाहिरेको छ। अमेरिकी ट्रेजरी बोन्डमा विभिन्न मुलुकहरूले डलर सञ्चित गर्छन्। चीनमा हाल अमेरिकी ऋण ८ सय ७० अर्ब डलर छ। यो सन् २०१० यताकै सबैभन्दा कम हो। चीनले युआनमा कारोबारका लागि विभिन्न मुलुकहरूसँग सम्झौता गरिरहेछ।
फेब्रुअरीमा इराकको केन्द्रीय बैंकले युआनमा कारोबारका लागि स्वीकृति दियो। इराक पेट्रोलियम पदार्थ धेरै बेच्ने मध्येको एक राष्ट्र हो। गत सेप्टेम्बरमा बंगलादेशकव केन्द्रीय बैंकले पनि युआनको कारोबारमा स्वीकृति प्रदान गर्यो।
सांघाइ कर्पोरेसनमा आवद्ध मुलुकहरूले पनि युआनमा कारोबारलाई बढाउने निर्णय लिए।त्यमसा रूस, भारत, पाकिस्तान उज्बेकस्तान, काज्गस्तान, ताजिकस्तान, किर्गीस्तान छन्। यस्तै, गत डिसेम्बरमा साउदी अरेबिया र चीनले पनि पहिलोपटक युआनमा कारोबार गरे।
यस्तै. रूसले पनि तेल र ग्यासको आम्दानीलाई युआनमानै जम्मा गर्ने निर्णय लिएको छ। रूसले आफ्नो आम्दानीको सञ्चिती युआनमै गर्ने क्रम बढाइरहेको छ।
डलरमा कारोबार गरिरहेका राष्ट्रहरूलाई चोट पुर्याउने काम प्रतिबन्धलेमात्रै गरिरहेको छैन। सान अर्थतन्त्र भएका मुलुहरूले क्षेत्री व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यले पनि मुलुकहरूलाई डलरबाट पर धकेलिरहेको अलि बताउँछन्। डलर अहिले सन् एक दशक यताकै बलियो अवस्थामा छ।
एक दशकयताको मुल्यांकनमा डलर ३० प्रतिशतले बढेको छ। डलरको वृद्धिमा उछाल आउँदा साना अर्थतन्त्र भएका मुलुकलाई ऋण चुक्ताका लागि कठिनाइ हुनेछ। पेट्रोलिय पदार्थ, खाद्यान्न लगायतका सामाग्री आपुर्ती गर्नुपर्ने राष्ट्रहरूका लागि खर्च ह्वात्तै बढ्नेछ।यसैले चीन र रूसले मात्रै होइन अमेरिकाका निकट मित्रराष्ट्रहरूले पनि डलरको विकल्प खोजिरहेका छन्।
डलर सहजता वा हतियार?
विश्वभरका कारोबारीले डलरलाई सुरक्षित मान्छन्। संकटको बेलासमेत त्यसमा कुनै समस्या नआउने उनीहरूको आत्मविश्वास छ। यही विश्वासलेनै डलरको कारोबारमा वृद्धि भइरहेको छ।
रूस-युक्रेन युद्धको स्थितिमा पनि डलर बलियो बनिरह्यो भने अन्य मुद्रा कमजोर बन्न पुगे। डलरमा कारोबारको लाभ बढिरहेको ली बताउँछिन्।‘अन्तर्राष्ट्रिय व्यापारका लागि डलरको कारोबार सहज र विश्वासिलो छ धेरै मुद्रामा अन्तर्राष्ट्रिय कारोबार हुँदा अस्थिरताको जोखिम हुन्छ,’ ली भन्छिन्।
अन्तराष्ट्रिय कारोबार प्रणाली खण्डिन भएमा कारोबारमा धेरै चुनौती थपिने उनको भनाइ छ। तर प्रतिबन्धहरू बढाउँदै जाने र विश्व आपूर्तीको श्रृंखलामा अवरोध सिर्जना गर्नेक्रम बढ्न हो भने अन्तर्राष्ट्रिय कारोबार खण्डिन हुन समयय नलाग्ने उनको बुझाइ छ।
‘मलाई सोधियो भने अन्तराष्ट्रिय कारोबारका लागि डलरनै राखिनुपर्छ भन्ने सुझाव दिन्छु। तर एउटा शर्तमा। मेरो वा अन्य मुलुकहरूको साझा शर्त के हो भने डलरलाई अमेरिकाले हतियारका रूपमा प्रयोग गर्नुभएन।’