विश्व व्यवस्था परिवर्तनको संकेतः ब्रिक्स सम्मेलनमा सबैको आँखा सी चिनफिङमाथि

मूलखबर संवाददाता
काठमाडौं

मंगलबारदेखि दक्षिण अफ्रिकामा ब्रिक्स राष्ट्र (ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका) को सम्मेलन सुरु भएको छ । यसपटक ब्रिक्स सम्मेलनमा ‘न्यू वर्ल्ड अर्डर’बारे चर्चा हुने छ। अमेरिका र युरोपको प्रभावलाई घटाउँदै यी पाँच राष्ट्रले छुट्टै ‘मल्टीपोलर’ विश्वको कल्पना गरिरहेका छन्। 

रसिया युक्रेन युद्ध चलिरहँदा पुटिन सहभागी नभएको सम्मेलनको केन्द्रविन्दुमा चिनियाँ राष्ट्रपति सी छन् । अमेरिकासँग ‘ट्रेड वार’मा रहेको चीनले पछिल्लो समय विकासउन्मुख र अर्थतन्त्र बलियो हुँदै गएका राष्ट्रहरुमा प्रभाव जमाउन कस्स्किएको छ। सी यो वर्ष पहिलोपटक बेइजिङ बाहिर कुनै देशको भ्रमणमा निस्किएका हुन्। यो वर्ष उनको अन्य कुनै पनि देशको भ्रमण तालिका छैन। त्यसैले पनि यो सम्मेलनलाई महत्वका साथ हेरिएको छ।

सी सोमबार त्यहाँ पुगेका थिए भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार जोहन्सबर्ग पुगेका छन्। भारतले विश्वमा आफ्नो प्रभाव बढाउँदै लग्दा मोदीको उपस्थितिलाई पनि महत्वका साथ हेरिएको छ। ब्रिक्स सम्मेलनमा मोदीले आर्थिक सहकार्य, खाद्य सुरक्षा र ब्रिक्सको संजाल फैलाउने बारे चर्चा गर्ने तयारी गरेका छन्। जोहन्सबर्गमै मोदी र सीबिच साइडलाइन वार्ता हुनेछ। सम्मेलनमा विश्वका ५० भन्दा बढी देशका नेताहरु पनि सहभागी हुँदैछन्।

‘ग्लोबर साउथ’ देश ब्राजिल र दक्षिण अफ्रिका ब्रिक्समार्फत आफूलाई बलियो गठबन्धनमा खडा भएको देखाउने रणनीतिमा छ। ब्राजिल ल्याटिन अमेरिकी राष्ट्रहरुको नेतृत्व गर्दै अमेरिकालाई टक्कर दिने सोचमा छ।

बुधबार सम्मेलनका क्रममा भूराजनीतिसँगै युक्रेन युद्धको बारेमा पनि छलफल हुनेछ। युक्रेनसँगको युद्ध मामिलामा चीन, भारत र लक्षिण अफ्रिकाले कुनै पक्ष लिएको छैन। सम्मेलनमा डलरको प्रयोगलाई घटाउँदै ब्रिक्स राष्ट्रको मुद्दा चलाउनेबारे पनि छलफल हुने अनुमान गरिएको छ।

के हो ब्रिक्स
ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका देशहरूका अंग्रेजीका सुरूका अक्षर मिलाएर बनेको शब्द हो ब्रिक्स । यसको औपचारिक शिखर सम्मेलन सन् २००९ मा रुसमा भएको हो । सुरुमा दक्षिण अफ्रिकाबाहेकका सदस्यहरू जोडिएर प्रथम सम्मेलन भएपनि दुई वर्षपछि दक्षिण अफ्रिका जोडिएको थियो ।

अहिले पनि साउदी अरेबिला, अर्जेन्टिनादेखि बंगलादेशजस्ता विभिन्न ४० देशहरूले ब्रिक्स्मा जोडिन आसय दिएका छन् । ग्लोबल साउथका उदयिमान अर्थतन्त्रहरूको समूह तथा अमेरिकी नेतृत्वको विश्व व्यवस्थाको चुनौती दिने वैकल्पिक संस्थाको रूपमा ब्रिक्सलाई लिने गरिएको छ । ब्रिक्स्को आफ्नै बैंक छ । जसको नाम न्यू डिभेलपमेन्ट बैंक हो । यसको मुख्यालय चीनको व्यापारिक राजधानी सांघाईमा छ ।