कांग्रेस मन्त्रीहरुको छुट्टै बैठक किन बस्यो ?
५ भदौ, काठमाडौं । नेपाली कांग्रेसबाट वर्तमान सरकारमा सहभागी मन्त्रीहरुको आज छुट्टै बैठक बसेको छ । नेपाली कांग्रेसका उपसभापति एवम् वर्तमान सरकारमा उपप्रधानमन्त्री र रक्षामन्त्रीसमेत रहेका पूर्णबहादुर खड्काको आह्वानमा रक्षा मन्त्रालयमा कांग्रेसका मन्त्रीहरुको छुट्टै बैठक बसेको हो ।
बैठकमा नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. प्रकाशशरण महत विदेश भ्रमणमा भएकाले उनीबाहेक कांग्रेसका अरु सबै मन्त्रीहरु उपस्थित थिए ।
कांग्रेसका मन्त्रीहरुको यो ‘साइडलाइन मिटिङ’मा भएका छलफलका विषय औपचारिक रुपमा सार्वजनिक भएका छैनन् । तर बैठकमा सहभागीहरुले माओवादी मन्त्रीहरुले गरेका कामको तुलनामा आफूहरुले गरेका ओझेलमा परेको भन्दै गुनासो गरेको स्रोतले बतायो ।
भ्रष्टाचार र सुशासनको क्षेत्रमा सरकारले गरेका कामकारबाहीको जस प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले मात्र पाएको गुनासो उनीहरुको थियो ।
हुन पनि नक्कली भुटानी शरणार्थी प्रकरण, बालुवाटारको ललिता निवास ( जग्गा प्रकरण र सुन तस्करी प्रकरणमा संलग्नहरुलाई धमाधम पक्राउ पर्न थालेपछि प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले वाहवाही पाएका छन् । जनस्तरबाट उनीहरुले वाहवाही पाइरहँदा कांग्रेसबाट मन्त्री बनेकाहरु भने ओझेलमा परेजस्तो देखिएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकारका नेपाली कांग्रेसका सबैभन्दा धेरै नौ जना मन्त्रीहरु छन् ।
बैठकमा के भयो ?
बैठकमा सहभागी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत रहेका कांग्रेस नेता रमेश रिजालले महत्वपूर्ण निर्णय र छलफल केही नभएको बताए । यद्यपि उनले समसामयिक विषयमा कुराकानी भएको र ती विषयमा कांग्रेसका मन्त्रीहरुको धारणा समान बनाउने भनेर निष्कर्ष निकालिएको बताए ।
यसैगरी परराष्ट्रमन्त्री एनपी साउदले पार्टी, सरकार र सदनमा समन्वयकारी भूमिका खेल्ने विषयमा मन्त्रीहरुबीच सल्लाह भएको बताए । यो सल्लाहले अहिलेको सरकार र सत्ता गठबन्धनलाई सहयोग नै पुग्ने उनले बताए । उनले भने, ‘सरकारलाई अझै प्रभावकारी बनाउनेबारे छलफल भएको छ । यो छलफलले सत्ता सहयात्री दलहरुहरुलाई सहयोग पुग्छ ।’
यसअघि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक र संसदीय दलको बैठकमा सरकारको कामको आलोचना भएको थियो । पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेपछि कांग्रेसको एउटा खेमा गृहमन्त्रीप्रति रुष्ट छ । सत्ता गठबन्धनका बैठकहरुमा त कांग्रेस सभापति शेरबहादुर देउवाले गृहमन्त्री श्रेष्ठको राजीनामा नै मागेको समाचार सार्वजनिक भएका थिए ।
कांग्रेसका आन्तरिक बैठकहरुमा सरकारले गरेका राम्रा कामको जस प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठले मात्र पाएको तर केही विवादास्पद कुरा आउँदा त्यसको अपजस कांग्रेसका मन्त्रीहरुले पनि खप्नु परेका आवाजहरु उठेका थिए ।
वर्तमान सरकारका जनप्रीय कामबाट अत्तालिएका केही शक्तिहरु यो सरकारको विकल्प खोज्नेसम्मको तयारीमा जुटेको सूत्र बताउँछ । त्यसको संकेत माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित आन्तरिक एक बैठकमा पनि गरेका छन् । उनले माओवादी केन्द्रलाई सरकारबाट बाहिर राख्न विभिन्न विकल्पमा शक्ति केन्द्रहरु क्रियाशील रहेको बताएका थिए । यद्यपि सरकारप्रति जनसमर्थन प्राप्त भएकाले तत्काल सत्ता गठबन्धन भत्किने सम्भावना नभएको नेता अनन्त बताउँछन् ।