काभ्रे खानीखोला गाउँपालिकामा पुग्यो केन्द्रीय प्रसारण लाइनको विद्युत

मूलखबर संवाददाता
काठमाडौं

काभ्रे जिल्लाको खानीखोला गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युतको परीक्षण सफल भएको छ । मङ्गलवार गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङको उपस्थितिमा केन्द्रीय लाइन परीक्षण गरिएको हो ।

खानीखोला गाउँपालिकामा ललितपुर जिल्लाको महांकाल गाउँपालिका वडा नम्बर ६ देवी डाँडा हेल्टार हुँदै केन्द्रीय लाइन लगिएको थियो ।

गाउँपालिकाको वडा नम्बर ७ देउपाल दोभान, बोरनडाँडा, बोरनबेशी, महांकाल, खोर भन्ज्याङ, वडा नम्बर ६ को फ्याङखोला, लुइँचे माझिटार र वडा नम्बर ५ को केन्द्र तालढुंगा क्षेत्रमा केन्द्रीय बिजुली परीक्षण गरिएको छ ।

गाउँपालिका अध्यक्ष थिङले गाउँपालिकामा विद्युत् परीक्षण सफल भएको र बाँकी ठाउँमा पनि चाँडै परीक्षण हुने भएकोले मिटर जोड्ने काममा छिटो भन्दा छिटो लाग्न गाउँवासीलाई अनुरोध गरेका छन् । सामाजिक सञ्जालमा प्रेस नोट जारी गर्दै थिङले बिधुतका पोल गाड्न र तार जोड्न बाँकी केही स्थानहरूमा पोल तार जोड्नका लागी ने.बि.प्रा.ले दोस्रो ठेक्का गरी काम अगाडि बढाएको बताएका छन् ।

यस्तो छ प्रेस नोट

आदरणीय खानीखोलाबासी जनसमुदाय ,

यहाँहरूको न्यानो साथ, हाम्रो निरन्तर प्रयास, माननीय सूर्यमान दोङ, नेपाल बिद्युत् प्राधिकरणको प्रबन्धक आदरणीय कुलमान घिसिङ बिद्युत प्राधिकरण बागमती प्रदेश, ने.बि.प्रा. काभ्रे, ने.बि.प्रा. ललितपुर र दक्षिण ललितपुर ग्रामीण बिधुत सहकारीको विशेष सहयोगमा आज खानीखोला गा.पा.केन्द्रसम्म केन्द्रीय बिधुत प्रसारण परीक्षण सफल भएको छ । यस निम्ति सहयोग पुर्‍याउनु हुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।

अब खानीखोलाको सबै बस्तीमा बिधुत जोड्नका लागी घर घरमा मिटर बक्स सेट गर्नुपर्ने हुन्छ । तत्पश्चात् मात्र घरघरमा बत्ती बल्नेछ । जसका लागी वडा अध्यक्षज्युहरुसँग समन्वय गरी तत्काल नेपाल बिधुत प्राधिकरणको प्रक्रिया बमोजिम मिटर जोड्ने काममा यहाँहरू जति द्रुतगतिमा लाग्नुहुनेछ त्यति नै छिटो हामी बिधुत जोड्न सक्नेछौ । बिधुतका पोल गाड्न र तार जोड्न बाकी केही स्थानहरूमा पोल तार जोड्नका लागी ने.बि.प्रा.ले दोस्रो ठेक्का गरी काम अगाडि बढाएको छ। यसको लागी सहयोगको अपेक्षा गर्दछु।

साथै भर्खरै जोडिएको बिधुत नयाँ एवम् प्रारम्भिक भएको र अत्यन्तै संवेदनशील भएकोले बिधुतका पोल तार वरपर कोही नजान ,कसैलाई जान नदिन , गाई बस्तु नछोड्न र छोड्न नदिई आफ्नो सुरक्षा प्रणालीमा सतर्क रहन पनि अनुरोध गर्न चाहन्छु।