नेपाल पत्रकार महासंघले  सूचना तथा प्रशारण विभागमा किन दियाे धर्ना ?

मूलखबर संवाददाता
काठमाडौं

श्रमजीवि पत्रकारको श्रम अधिकार सुनिश्चितताको माग गर्दै नेपाल पत्रकार महासंघले  सूचना तथा प्रशारण विभागमा धर्ना दिएको छ ।

शुक्रवार नेपाल पत्रकार महासंघका प्रतिनिधिसहित श्रमजीवि पत्रकारहरुले श्रम अधिकारको सुनिश्चितताको माग गर्दै विभागका महानिर्देशकलाई ज्ञापन पत्र समेत बुझाएका हुन् ।

महासंघको तर्फबाट बुझाइएको ज्ञापन पत्र ग्रहण गर्दै सूचना तथा प्रशारण विभागका महानिर्देशक शंकर नेपालले विभागमा आएका उजुरीहरुलाई कार्यविधिले तोकेअनुसार फछ्र्यौट गर्दै आएको बताए । उनले प्रेस रजिस्टारको भूमिका तोकिएजति निर्वाह गरेको पनि दाबी गरे । उनले श्रमजीवि पत्रकारको हक हितको बारेमा छलफल अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सहजै गरिएका आग्रह राज्यका निकायले नसुन्ने प्रवृत्ति देखिएकाले सडकमा आन्दोलन गर्नुपरेको बताए । उनले त्रकारिता क्षेत्र श्रम शोषण गर्ने क्षेत्र हो कि भन्ने भाष्य सिर्जना गरिएको भन्दै पत्रकारिता क्षेत्रको गुणस्तरीयता, व्यावसायिक विकासमा जोड दिनुपर्ने बताए ।

उनले भने, ‘सहजै गरिएका आग्रह राज्यका निकायले नसुन्ने प्रवृत्ति छ, त्यसैले हामीले सडकबाट नै सामुहिक रुपमा दबाब दिएर हाम्रो आवाज सरोकारवालासम्म पु¥याउन आएका हौँ । पत्रकारिता क्षेत्र श्रम शोषण गर्ने क्षेत्र हो की जसरी भाष्य स्थापना गरिँदैछ, यो दुःखद् छ । नयाँ पुस्तालार्ई आकर्षित गर्न यसरी सम्भव छैन । पत्रकारिता क्षेत्रको गुणस्तरियता, व्यसायिक विकासको कुरा छ, श्रम शोषणको क्षेत्र हो भन्ने भाष्य स्थापना गर्दैगर्दा श्रमको मुद्दा पेचिलो बनाएर लैजाने र श्रममा पत्रकारिताको सम्मान हुनेगरी लैजाने प्रयत्न गरिरहेका छौँ । यो कार्यालयले जुन भुमिका निर्वाह गर्दैगर्दा श्रमजीवि पत्रकारिता ऐनले परिकल्पना गरेको जस्तो भुमिका निर्वाह हुन सकिरहेको छैन । स्वतन्त्र र छुट्टै प्रेस रजिस्टारको व्यवस्था हुनुपर्छ । श्रमजीवि पत्रकारले तलव पाउन अदालत जानुपर्ने अवस्था अन्त्य हुनुपर्छ ।’