विमानस्थलबाट समातिएको सुन टक्सारमा जोखियो, अझै सुन लुकाईएको आशंका
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेपछि बरामद भएको सुन नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखामा जोखिएको छ । बरामद गरिएको सुन पुलचोकस्थित राजस्व अनुसन्धान विभागबाट आठ बाकसमा बबरमहल ल्याइएको हो ।
सुन जोखिसकेपछि पुनः विमानस्थल भन्सारमा पठाईएको छ । विमानस्थलमा अझै पनि ठूलो परिणाममा सुन लुकाईएको आशंकामा खोजतलास जारी रहेको राजस्व अनुसन्धान विभाग स्रोतले जनाएको छ । सो प्रकरणमा हालसम्म छ जना पक्राउ परिसकेका छन् ।
यसैगरी, उक्त सुन जाँचपास भएको सम्बन्धमा छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समितिसमेत गठन गरिसकेको छ । साथै सुन बाहिर ल्याउन प्रयोग गरिएको ट्याक्सी र त्यसका चालकलगायतलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।