समयमा काम नसक्ने ठेकेदार र व्यवसायीहरु फेरि म्याद थपको माग गर्दै सिहदरबारमा
तोकिएको समयमा काम नगर्ने ठेकेदारहरू व्यवसायीले फेरि समय थपको माग अघि सारेका छन् । मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटेर ०८० असार मसान्तसम्म म्याद दिइएका आयोजनाको काम उक्त समयमा नसकिने भन्दै उनीहरूले थप एक वर्ष मागेका हुन् ।
नेपाल निर्माण व्यवसायी महासंघ नेतृत्व टोलीले सहरी, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थमन्त्रीलाई भेटेर ०८१ असारसम्म म्याद थप गर्नुपर्ने दबाब दिएको हो । सम्बन्धित मन्त्रीहरूले भने समस्या हेरेर म्याद थप गर्न सकिने आश्वासन दिँदै निर्माण व्यवसायीलाई फर्काउने गरेका छन् ।
ठेकेदारहरूले म्याद थप मात्र माग्ने गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च तहका एक कर्मचारी पनि दाबी गर्छन् । ‘समस्या परेका बेला म्याद थप्नु बेग्लै कुरा हो,’ ती कर्मचारीले भने, ‘तर कामै नगर्ने, म्याद मात्र थपिरहने हो भने आयोजना कहिले पूरा हुन्छन् रु राजनीतिक दबाबमा म्याद थप्दै लैजाने हो भने धेरैजसो आयोजना रुग्ण बन्ने निश्चित छ ।’ पटकपटक काम गर्ने समय दिँदा पनि नगर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने ती कर्मचारीको भनाइ छ ।
यता भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा भने म्याद थपबारे आफूलाई कुनै जानकारी नभएको बताउँछन् । सबैभन्दा बढी ठेक्का भौतिक र सहरी विकास मन्त्रालयअन्तर्गत भएका छन् । म्याद थप्नुपर्छ भनेर अहिलेसम्म कुनै जानकारी नआएको सहरी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रदीप परियारको भनाइ छ । तर निर्माण व्यवसायी मन्त्रालय धाउँदै, ज्ञापन बुझाउँदै हिँडिरहेका छन् ।
मन्त्रीहरूलाई दबाबमा पारेर निर्माण व्यवसायीले म्याद थपाउने तयारीमा छन् । अहिले काम गर्ने समय हो । ‘निर्माण व्यवसायीको ध्यान काममा भन्दा बढी मन्त्री रिझाएर म्याद थप गराउनेमै छ,’ सडक विभाग स्रोतले भन्यो, ‘जति म्याद थपे पनि निर्माण व्यवसायीले काममा प्रगति देखाउन सकेनन्, लामो समय अलपत्र पारिएका काममा पटकपटक सचेत गराउँदा पनि कामको गति सुस्त छ ।’
कोभिडले काममा असर गरेको र थपिएको समय पनि पर्याप्त नभएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको दाबी छ ।