रवि लामिछानेविरूद्व निर्वाचन कार्यालयमा ४ उजुरी दर्ता, कसले दिए उजुरी ?

मूलखबर संवाददाता
काठमाडौं

आगामी  वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन २ मा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चार वटा उजुरी दर्ता भएका छन् ।

मंगलबार चारवटा उजुरीमध्ये तीन वटा उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले उजुरी दर्ता गराएका हुन् ।

राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरीले लामिछानेविरुद्ध मुख्य निर्वचन अधिकृतको कार्यालयमा दाबी विरोधको उजुरी दर्ता गरेका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार सन्तोष थापा र अर्का स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवहरि सुवेदीले पनि लामिछानेविरुद्ध उजुरी दर्ता गराएका छन् ।

यसैगरी काठमाडौंबाट युवराज पौडेल (सफल)ले ई–मेलबाट उजुरी दर्ता गराएका छन् । उजुरीमा नेपालको संविधानको धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिनाको अवधि व्यतित नभई निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको भनिएको छ । साथै, लामिछानेले माघ १५ मा नागरिकता लिएको मितिलाई आधार मान्दा यो अवधि पूरा भएको नदेखिएको पनि उजुरीमा भनिएको छ ।