प्रजनन केन्द्रमा हुर्काइएको गोही नदीमा छाडियो
चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५० घडियाल गोही राप्ती नदीमा छाडिएका छन् । पाँच वर्ष उमेर पुगेका गोहीलाई नदीमा छाडिएको हो । यसै आर्थिक वर्ष थप २० गोही नदीमा छाडिँदै छ । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार पाँच वर्ष उमेर र एक दशमलव पाँच मिटर लम्बाइ भएपछि गोहीलाई नदीमा छाड्ने गरिएको छ ।
यस वर्ष राप्ती नदीमा सौराहाघाटबाट ६०, कसराघाटबाट ७० र खगेन्द्रमल्ली नजिकैबाट २० गोही नदीमा छाडिएको हो । ती गोहीलाई यस आवको विभिन्न समयमा छाडिएको हो । उहाँले भन्नुभयो, “थप २० गोही छाड्न मिल्ने अवस्थामा छन्, हामी केही दिनमा छाड्छौँ ।”गत आवमा एक सय सात गोही नदीमा छाडिएको थियो । प्रजनन केन्द्रमा हुर्काएर हालसम्म एक हजार आठ सय ४२ गोही नदीमा छाडिसकिएको छ । सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो ।
प्रजनन केन्द्रमा हुर्काएर राप्ती, नारायणी, कालीगण्डकी, सप्तकोशी, कर्णाली र बबईमा गोही छाडिँदै आएको छ ।हालसम्म सबैभन्दा बढी राप्ती नदीमा छाडिएको छ । नेपालमा धेरै गोही पाउने नदीमा राप्ती पर्दछ । चैत–वैशाख महिनामा नदी किनारमा गोहीले पारेका अण्डा सङ्कलन गरेर कसरामा रहेको प्रजनन केन्द्रमा कोरलेर बच्चा हुर्काउने गरिन्छ । हाल प्रजनन केन्द्रमा सात सयभन्दा बढी विभिन्न उमेरका गोही रहेका छन् ।