राष्ट्रपति निर्वाचनकाे लागि माैन अवधि शुरू : यी काम गर्न निषेध

मूलखबर संवाददाता
काठमाडौं

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको लागि माैन अवधि शुरू भएको जनाएको छ ।

फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने आयाेगले जानकारी दिएको हो। राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पाैडेल र एमालेका शुवास नेम्वाङ प्रतिस्पर्धामा रहेका छन् । राष्ट्रपति निर्वाचन फागुन  २५ गते हुँदै छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन। साथै, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबूक, भाइबर जस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको छ।

आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चार माध्यमबाट जित/हारको पूर्वानुमानका सामग्री प्रसार जस्ता कार्य गर्न नहुने आयोगले जनाएको छ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेल प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहितामा व्यवस्था गरिएको छ।