टर्कीमा नेपाली सुरक्षित, सबै सम्पर्कमा
टर्कीमा गएको महाभूकम्पको क्षतिको विवरण आउन बाँकी रहे पनि हालसम्म नेपाली नागरिक सुरक्षित रहेको गैरआवासी नेपाली संघ टर्कीका महासचिव विनोद पौडेलले बताएका छन् । टर्कीका विभिन्न सहर इस्तानबुल, अंकारा, इज्मिर, अन्टालिया, बोडुर्मलगायत स्थानमा दुई हजारदेखि २५ सय नेपाली बसोवास गर्दै आएको गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले बताए । उनका अनुसार भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी टर्कीस्थित गाजियन्टेपमा भने थोरै संख्यामा मात्रै नेपाली रहेको जानकारी प्राप्त भएको बताए । गाजियन्टेपमा रहेका नेपाली गैरआवासीय नेपाली संघको सम्पर्कमा आइरहेको उनले बताए ।
गाजियन्टेपमा रहेका तीनजना नेपाली महिला कामदार र तीनजना विद्यार्थी सम्पर्कमा आएको गैरआवासीय नेपाली संघ टर्कीका महासचिव पौडेलले बताए । उनका अनुसार गाजियन्टेपमा कति नेपाली छन् भन्ने कुनै तथ्यांक छैन । तर, सम्पर्कमा आएकाहरूले उहाँहरू आफू सुरक्षित सकुशल रहेको जानकारी गराएको उनले बताए । ‘सम्पर्कमा आउनुभएका नेपालीले सुरक्षित भएको बताउनुभएको छ । उहाँहरूलाई कुनै समस्या परे खबर गर्न अनुरोध गरेका छौँ । अन्य सहरमा रहेका नेपालीसँग पनि हामीले सम्पर्कका लागि प्रयास गरिरहेका छाैँ । अहिलेसम्म कुनै दुःखद खबर आएको छैन,’ उनले भने ।
ज्याकेट लिएर कोठाबाट भाग्यौँ
गुड्डु राई, गाजियन्टेप, टर्की
भूकम्पले हल्लाउन थालेपछि मात्रै हामी निद्राबाट ब्युँझियाैँ । कोठामा मसहित तीनजना थियाैँ । भूकम्पले हल्लाउँदासम्म तीनैजना एकै ठाउँमा टाँसिएर बस्याैँ । हल्लाउन कम भएपछि एउटा ज्याकेट तानेर कोठाबाट बाहिर भाग्यौँ । अरू त केही सामान लिन नै पाइएन । अहिले हामीलाई कम्पनीले होटेलमा ल्याएर राखेको छ । बिहानको नास्ता खुवायो । परकम्प आइरहेको छ । बाहिर हिउँ र पानी पनि परिरहेको छ । बाहिर निस्किन पनि मिल्दैन ।
भित्र बसौँ परकम्प गइरहेको छ,बाहिर हिउँ परिरहेको छ
सकिल सेख, गाजियन्टेप, टर्की
बिहान भूकम्प जाँदा होस्टलमा सुतिरहेको थिएँ । भूकम्पले ब्युँझिए पनि म भागिनँ । नेपालको २०७२ सालको अनुभवले म आत्तिनँ । कम्पन रोकिएपछि इमर्जेन्सी ब्याग बोकेर होस्टलबाट बाहिर निस्किएँ । हाम्रो होस्टल १०औँ तलाको छ । म भुइँतलामा थिएँ । माथिल्लो तलाका साथीहरू निस्किन सकेनन् । हामी केही साथी निस्कियौँ । अहिले हामी होस्टलनजिकैको म्युजियममा छौँ । स्थानीय बासिन्दा पनि यहाँ जम्मा भएका छन् । बाहिर पानी र हिउँ परिरहेको छ । बाहिर निस्किन सक्ने अवस्था छैन । त्यसैले के–के भएको छ केही थाहा छैन । यहाँ पढ्न आउने अन्य तीनजना साथीहरूसँग मोबाइलमा सम्पर्क भएको छ । उनीहरू पनि सेल्टरमा बसेको जानकारी पाएको छु । यहाँ बस्नेलाई बिहान सरकारले नै नास्ता दिएको थियो । अब के–के हुन्छ हेराैँ । नयाँ पत्रिकाबाट साभार ।