मतदाता रिझाउन घरदैलोमा प्रदेशसभा सदस्य उम्मेदवार बम

मूलखबर संवाददाता
काठमाडौं

बाँकेमा तिन वटा प्रतिनिधि सभा र ६ वटा प्रदेश सभाका उम्मेदवार मतदाता रिझाउन टोल(टोलमा पुग्न थालेका छन्। मंसिर ४ मा हुने प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार टोल(टोलमा मतदाता भेटघाटमा व्यस्त भएका हुन्।

पुराना अनुहार आफ्ना कार्यकर्ता र पहिले मतदान गरेका मतदातालाई भेटी मत दिए वापत आफूले गर्ने कामबारे प्रस्ट्याउँदै हिंडेका छन् भने नयाँ अनुहार आफू र आफ्नो योजना परिचित गराउँदै मतदाता आकर्षित गर्ने काममा जुटेका छन्।

माओवादी केन्द्रले बाँके क्षेत्र नं २ को ख बाट अकल बहादुर बमलाई उम्मेदवार बनाएपछि बमको प्रचारप्रसारका लागि नेपालगञ्जको बिभिन्न वडामा जनसम्पर्क कार्यालय स्थापना गरिएको छ। बमले कार्यालयको उद्घाटन गरेसंगै आम नागरिकहरुलाई बोलाउँदै, भेट्दै उनले आफ्ना धारणा राख्ने गरेका छन्।

बमले दिगो विकास र समृद्धि माओवादीबाटै सम्भव रहेको बताउँदै उनले बालबालिकालाई निःशुल्क शिक्षा, ज्येष्ठ नागरिकलाई सुरक्षाभत्ता र बेरोजगार युवालाई रोजगारी दिलाउने काम माओवादीले मात्रै गरेको स्मरण गराउँदै चुनाव प्रचार गरिरहेका छन् ।

बमले नागरिकताविहीन नेपालीलाई नागरिकता दिनुपर्छ भन्ने मुख्य एजेन्डा बोकेका उनले नेपालगञ्ज क्षेत्रको एकीकृत विकास एवं यहाँका उद्योगी व्यवसायीलाई मर्का पारिरहेको बैंकले लिने चर्को व्याजदर तत्काल रोक्नुपर्ने विषयलाई चुनावी एजेन्डा बनाएका छन् ।

बमले नेपालगञ्ज क्षेत्रको विकास गरी रिङरोडसहितको नगर बनाई आर्थिक, भौतिक साथै सामाजिक रूपमा विकास गर्ने बताएका छन् ।

बमले सोमबार नेपालगञ्ज वडा नं १२ मा पुगेर घरदैलो गरेका थिए। घर दैलो गर्न पुगेका बमलाई मतदाताले जितको शुभकामना दिदैं जित पछि पनि निरन्तर जनताको घरदैलोमा आउन सुझाव दिएका थिए। बमले आफु निर्वाचित भए महिनाको एक साता आफ्नै क्षेत्रमा बस्ने र जनताको समस्या बुझेर समाधान गर्ने तर्फ लाग्ने प्रतिबद्धता गरेका थिए।

बमसंगै प्रचार प्रसारका लागि माओवादी नेतृ मिना मल्ल पुन, मिना डाँगी, मन्दिरा शर्मा, रतन शाही लगायत स्थानीयहरुको उत्साह जनक सहभागिता रहेको थियो।