एमालेलाई प्रभु शाहकाे धक्का : २५ स्थानमा स्वतन्त्र उमेदवारी दर्ता

मूलखबर संवाददाता
काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले  स्थायी कमिटीका सदस्य प्रभु साहसहितका जिल्लास्तरका नेताहरूले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि २५ स्थानबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  जनता समाजवादी पार्टी (जसपा)सँग मधेसमा चुनावी तालमेल गर्न नहुने पक्षमा रहेका साहले आफ्नै पार्टीको टिकटलाई समेत अस्वीकार गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

रौतहट- ३ मा उनले स्वतन्त्र उम्मेदवारी दिँदै उनले जसपासँग गठबन्धन गरेर एमाले अपवित्र भएको दाबी गरेका थिए । २०६४ सालदेखि साहले आफ्नो गृहनगर मौलापुर समेत पर्ने त्यस क्षेत्रबाट चुनाव जित्दै आएका छन् । प्रतिनिधिसभाअन्तर्गत मधेसका ३२ निर्वाचन क्षेत्रमध्ये ८ वटामा विद्रोह भएको छ भने प्रदेशसभातर्फ १७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

साहले पार्टीको टिकट अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिँदा रौतहट- ३ मा उम्मेदवारको स्थान रिक्त भएको छ । साहले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि अर्को व्यक्तिलाई एमालेले उम्मेदवार बनाउने कोसिस गरेको थियो । आइतबार साँझ साढे ५ बजे निर्वाचन कार्यालय पुगेकाले उम्मेदवारीका लागि ठिक्क परेका व्यक्तिले कार्यालय परिसरमा प्रवेश गर्न पाएनन् ।

साहका अनुसार प्रतिनिधिसभातर्फ रौतहट- ३ बाट प्रभु साह‚ रौतहट- २ मा किरण साह, रौतहट- ४ मा प्रदीप साह, महोत्तरी- ३ मा रामआधार कापड, सर्लाही- १ मा मानवबहादुर खड्का, धनुषा- १ मा कसोरी साह कमल, धनुषा- ४ मा कृष्णकुमार महतो, पर्सा- १ मा सन्तोष श्रेष्ठ रहेका छन् ।

त्यसैगरी सर्लाही- ३ (१) बाट रेणुका पौडेल, बारा- ४ (२) बाट उमेश कुशवाहा, रौतहट- ३ (१) बाट केशव राय चौधरी, रौतहट ३ (२) बाट कुन्दन कुशवाहा‚ रौतहट-१ (२) बाट राजेश चौधरी, रौतहट-१ (२) बाट मनोज यादव, महोत्तरी-३ (१) बाट मुजिम राय, महोत्तरी-३ (२) बाट सुनील रोहित, सिरहा-३ (२) बाट गोपालप्रसाद यादव, सिरहा-२ (२) बाट योगेश सिंह, महोत्तरी- १ (२) बाट प्रमोद महतो, बारा- १ (१) बाट देवराज घिमिरे, बारा-१ (२) बाट जयन्त कुशवाहा, पर्सा-१ (२) बाट कदम रसुल, पर्सा-४ (२) बाट पहलाद गुप्ता र पर्सा -२ (१) बाट विनोद लामाले उम्मेदवारी दिएका छन् ।