सभामुख सापकोटाद्वारा चुनाव नलड्ने घाेषणा

मूलखबर संवाददाता
काठमाडौं, २२ असाेज

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

 शनिबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी सभामुख सापकोटाले आफूले सो निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको बताएका हुन् ।

त्यस अवसरमा उनले लगातार ३ पटकसम्म आफूलाई निर्वाचित गराएर राष्ट्रिय भूमिका निर्वाह गर्ने र जनताको सेवा गर्ने अवसर दिएको भन्दै सिन्धुपाल्चोकका मतदाताप्रति आभारसमेत व्यक्त गरेका थिए ।

सभामुख सापकोटाले आफू संसदीय भूमिकामा नरहेपनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील भइरहने प्रतिवद्धता व्यक्त गरे । अग्रगामी राजनीतिक अभियन्तामार्फत आम नेपाली नागरिकको समुन्नतिका लागि आफ्नो बुद्धि र विवेकले भ्याएसम्म काम गर्ने उनको भनाइ थियो ।

सभामुख सापकोटाले राज्य र जनताले आवश्यक ठानेमा जुनसुकै जिम्मेवारी बहन गर्न तयार रहेको उल्लेख गर्दै राजनीतिक एवं सामाजिक मञ्चमार्फत सबै नेपालीको स्वाभिमान र आत्मविश्वास उचो बनाउन आफ्नो सक्रियतामा कुनै कमी आउन नदिने पनि बताए ।

सापकोटा २०६४ को पहिलो संविधानसभा र २०७० को दोस्रो संविधान सभामा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए भने २०७४ सालको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।