देशभर ४ दिनदेखि लगातार वर्षा, बाढी पहिराेकाे त्रास, सडकहरू अवरुद्ध

मूलखबर संवाददाता
काठमाडौं, २१ असाेज

 देशका विभिन्न ठाउँमा विगत ४ दिनदेखि लगातार  हल्कादेखि मुसलधारे वर्षा भइरहेको छ । लगातारको वर्षाले जनजीवन प्रभावित बनेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा अझै २ दिनसम्म हुन सक्ने सम्भावना छ ।

महाशाखास्थित वरिष्ठ मौसमविद्‌ वरूण पौडेलले बताएअनुसार कतै गत ४८ घण्टादेखि त कतै ३६ घण्टादेखि लगातार पानी परिरहेको छ।

“नेपालमा मनसुन सकिने बेलामा बङ्गालको खाडीमा न्यून चापीय क्षेत्रको विकास भएर अहिले वर्षा भइरहेको हो।”

“सकिनुअघि मनसुन अझ बढी सक्रिय भइदिएर यति पानी परेको हो,” कारणबारे उनले भने।

अबको एक-दुई दिन सुदूरपश्चिम प्रदेशमा सक्रिय हुने पूर्वानुमान छ। आइतवारबाट क्रमिक रूपमा मौसममा सुधार हुने देखिएको छ,” उनले थपे।

सम्भवतः त्योसँगै नेपालमा यो वर्षको मनसुन सकिने मौसमविद्‌हरूको अनुमान छ।

“त्यो बेलासम्म पानी पर्ने र रोकिने क्रम चाहिँ चलिरहने देखिन्छ,” पौडेलले पूर्वानुमानबारे भने।

वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही, गण्डकी प्रदेशका थोरै, वागमती प्रदेश मधेश प्रदेश र प्रदेश नं १ का कतिपय स्थानमा ठूलो वर्षाको सम्भावना छ।

ठूलो वर्षाको सम्भावनाबीच भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक यातायता र हवाईसेवा समेत प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ।

प्रतिकूल मौसमका कारण थुप्रै आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरू प्रभावित भएको अधिकारीहरूले बताएका छन्।

नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अधिकारीहरूले अनुरोध समेत गरेका छन्।

बाढी पूर्वानुमान महाशाखाले जनाएअनुसार अहिले बबई र पश्चिम राप्ती नदीमा पानीको सतह खतराको तहमा पुगेको छ।

विभिन्न ठाउँमा देशका ठूला नदीहरू वागमती, नारायणी र महाकालीमा पानीको सतह बढ्ने क्रममा रहेको उसले जनाएको छ।