नेपालबाट तत्काल ५० मेगावाटसम्म विद्युत् खरिद गर्न बंगलादेश इच्छुक
नेपालबाट तत्काल ४० देखि ५० मेगावाटसम्म विद्युत् खरिद गर्न बंगलादेश इच्छुक देखिएपछि नेपाल र बाङ्ग्लादेशले भारतको विद्युत् व्यापार निगम लिमिटेडलाई प्रसारणलाइन उपलब्ध गराउन आग्रह गर्ने भएका छन्।
बिहीवार काठमाण्डूमा दुई देशका सचिव स्तरीय निर्देशक समितिले ऊर्जा व्यापार सम्झौता अघि बढाउने विषयमा छलफल गरेको ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिए।
ऊर्जा व्यापारबारे छलफलका लागि बाङ्ग्लादेशका अधिकारीहरू केही दिनयता नेपालमा रहेका छन्।
मन्त्रालयका अनुसार बङ्ग्लादेशको भेरामारामा अवस्थित संरचनाको बाँकी रहेको क्षमता उपयोग गरी नेपालबाट प्रारम्भिक चरणमा ४० देखि ५० मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिने देखिएको छ।