पार्टी अनुशासन तोड्नेलाई कारबाही गरिन्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अनुशासन तोड्नेलाई कारबाही गरिने बताएका छन् ।
स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही हुने उनले स्पष्ट पारे ।
पार्टीले अन्तर्घात छानबिनका लागि गठन गरेको समितिको प्रतिवेदन बुझ्दै उनले पार्टी अनुशासन तोड्नेलाई कारबाही नगरे माओवादी कम्युनिस्ट पार्टीजस्तो नहुने बताए ।
‘अनुशासन तोड्नेलाई कारबाही नगर्ने हो भने कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टीजस्तो रहँदैन । यो छानबिन नगरी दोषीलाई कारबाही प्रक्रिया अघि नबढाई कम्युनिस्ट आन्दोलन, पार्टी पुनर्गठन अघि बढाउन सम्भव छैन’ उनले भने ।
३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा भएको अन्तर्घात छानबिन गर्न माओवादी केन्द्रले अनुशासन आयोगका संयोजक टंक राईको संयोजक, मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेको समिति गठन गरेको थियो ।
अध्यक्ष प्रचण्डले अन्तर्घात छानबिन पार्टीको अनियमितता र गडबडी सच्याउने विषयसँग मात्र सम्बन्धित नभएको बताए । ‘कुनै खास ठाउँमा भएको अनियमितता र गडबडी सच्याउने कुरामा मात्र सम्बन्धित छैन’ उनले भने, ‘पार्टीलाई विधिसम्मत र अनुशासनमा चलाउने र राम्रोलाई प्रोत्साहन गर्ने कुरासँग पनि सम्बन्धित छ ।