अर्थमन्त्री शर्मा निर्दोष देखिएको प्रतिवेदन संसदीय छानवीन समितिले सभामुखलाई बुझायो
अर्थमन्त्री जनार्दन शर्मामाथिको छानविनको लागि गठित संसदिय समितिले आज सभामुख अग्नीप्रसाद सापकोटा समक्ष छानवीन प्रतिवेदन बुझाएको छ ।
चालु आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने आरोप आएपछि सो विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार आफ्नो प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको हो । विभिन्न पक्षसँग छलफल गरेर समितिले प्रतिवेदन तयार गरेको छ ।
प्रतिवेदनमा अर्थमन्त्रीमाथि लगाइएको आरोप पुष्टि गर्ने आधार कतैपनि नदेखिएको र शर्मा निर्दोष देखिएको निश्कर्ष रहेको एक सदस्यले बताए ।
प्रतिवेदनलाई अन्तिमरुप दिन बिहीबार दिनभर समितिको बैठक बसेको थियो । समितिका सभापति लक्ष्मणलाल कर्णले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाको समय लिएर प्रतिवेदन बुझाउने समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।
संसदीय छानबिन विशेष समितिको आज अन्तिम बैठक बस्यो । प्रतिवदेन तयारी गर्ने कुरा सम्पन्न भएको छ, उनले भने, भोलि समय लिएर सभामुखसमक्ष प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । समितिका सभापतिले प्रतिवेदन पेस गर्नुहुनेछ । प्रतिवेदनमा उल्लेखित विषय सार्वजनिक गर्न नमिल्ने उनले बताए ।
गत असार २२ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सो सम्बन्धमा छानबिन गर्न ११ सदस्यीय विशेष समिति गठन गरिने घोषणा गरेका थिए । समितिमा सांसद खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल ९गौतम०, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सीताराम महतो, सरलाकुमारी यादव र सुरेन्द्रप्रसाद यादव रहेका थिए ।
संसदीय छानबिन समिति गठन भएपछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका थिए । समितिले पूर्वअर्थमन्त्री शर्मा, अर्थ मन्त्रालयका सचिव, बजेट निर्माणमा संलग्न उच्चपदस्थ कर्मचारीसँग बयान लिएको थियो । समितिलाई १० दिनभित्र प्रतिवेदन दिन भनिएको थियो । तोकिएको समितिले काम नसकेपछि प्रतिनिधिसभाले सात दिन समय थप गरेको थियो । समितिको अन्तिम म्याद बिहीबार सकिएको छ ।