तीन दिने भ्रमण सकेर प्रचण्ड स्वदेश फिर्ता, ‘भ्रमण सोचेभन्दा सफल’ : प्रचण्ड
सत्तारुढ दल नेकपा माओवादीका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीन दिने भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फिर्ता हुनुभएको छ । स्वेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा प्रचण्डलाई भव्य स्वागत गरिएको थियो । उनको स्वागतमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश सहित नेताहरु वर्षमान पुन अनन्त, जनार्दन शर्मा, उर्जा तथा जलश्रोत मन्त्री पम्फा भुषाल, खेलकुद मन्त्री महेश्वर गहतराज, वागमती प्रदेश इन्चार्ज हितमान शाक्य, उपत्यका विशेष प्रदेश समिति इन्चार्ज लिलामणी पोखरेल लगायतका नेता कार्यकर्ताहरु विमानस्थल पुगेका थिए ।
स्वदेश फर्किएका प्रचण्डले पत्रकारहरुमाझ आफ्नो भ्रमण सोचे भन्दा उच्च सम्मान प्राप्त गरेको र भ्रमण पुर्ण रुपमा सफल भएको बताउनुभयो । प्रचण्डले भारतको सत्तारुढ दल आफू भारतीय जनता पार्टीको अध्यक्षको निमनत्रणामा भारत गएको तर भारतीय सरकारका प्रमूख व्यक्तिहरु र कुटनीतिक निकायासँगको भेटघाट र नेपाली समुदायसँग समेत भएको अन्तरक्रियालगायत कुल मिलाएर अत्यन्त सफल भएको निश्कर्ष आफ्नो रहेको बताउनुभएको थियो ।
प्रचण्डले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी सँग पनि भेट हुने कार्यक्रम भारतीय अधिकारीले बनाएको तर पछि भेट हुन नसकेको जानकारी दिनुभयो ।
आइतबार मध्याह्न पौने १ बजेसम्म पनि आफूहरूलाई मोदीसँग भेट हुन्छ भनिएको भए पनि पछि सम्भव भएन भन्ने कुरा आएको बताउनुभयो।
‘लास्ट आवरमा के कारणले भेट सम्भव भएन भन्ने मलाई पनि तपाईंहरूलाई जस्तै थाहा छैन। भारतमा बाढी आएर ठूलो जनधनको क्षति भएर प्रधानमन्त्री काममा व्यस्त भएर हो कि,’ प्रचण्डले भन्नुभयो, ‘पार्टी अध्यक्षले निम्ता दिएकाले अध्यक्षले भेटिसकेपछि हुन्छ भनेर हो। कारण मलाई पनि थाहा छैन।’
मोदीसँग भेट नभए पनि आफ्नो भ्रमण अपेक्षाअनुसार नै भएको प्रचण्डले जानकारी दिनुभयो।
आफूलाई विमानस्थलदेखि भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयसम्म गरिएको स्वागत भव्य रहेको प्रचण्डको अनुभुति थियो।
प्रचण्डले भारतीय विदेश सचिव विनयमोहन क्वात्रा, प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, विदेश मन्त्री एस जयशंकर र भाजपा अध्यक्ष जेपी नड्डासँग भेटेको र भेट सम्वन्ध विस्तार र नेपालको हितको पक्षमा केन्द्रीत भएको बताउनुभयो ।
‘सबैसँगको भेटमा निकै सौहार्दपूर्ण वातावरणमा इतिहासदेखि अहिलेसम्मका सबै विषयमा कुरा भएको छ,’ प्रचण्डले भन्नुभयो ,‘म निकै आशावादी भएर फर्किएको छु।’
दिल्लीमै रहेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणासँग शिष्टाचार भेट भएको प्रचण्डले जानकारी दिनुभयो ।
‘उहाँ उपचारका लागि जानुभएको हो। प्रधानमन्त्रीकी पत्नी र कांग्रेसकी केन्द्रीय सदस्य पनि भएकाले उहाँको उपचारमा चासो राखेर शिष्टाचार भेट गर्नु स्वभाविक हो। हामीले नेपाली दूतावासमा भेटेका हौं,’ प्रचण्डले अगाडि थप्नुभयो ,‘त्यो भेटमा उहाँको स्वास्थ्यलगायत सामान्य विषयमा कुरा भएको हो। त्योभन्दा बढी बुझ्नुभयो भने गलत हुन्छ।’
प्रचण्डले आफूले नेपालको पक्षमा के बोलेँ र गरेँ भन्ने कुरा सावर्जनीक भइसकेकोले त्यसबारेमा थप व्याख्या आवश्यक नभएको बताउनुभयो ।