कांग्रेस पदाधिकारी बैठक आज, केन्द्रीय समिति बैठक भोली : शेखर पक्षको छुट्टै भेला
सत्ताको नेतृत्व गरिरहेको प्रमुख दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने कार्यक्रम छ।
आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्ने सहमहामन्त्री जीवन परियारले बताए। तर पदाधिकारी बैठक बस्नुपुर्व शेखर कोइरालापक्षीय पदाधिकारी र केन्द्रीय समिति सदस्यहरुको भेला बस्दै छ । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज भेला गर्न लागेका हुन्।
आइतबार कोइराला पक्षका कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यहरू भेलामा जुट्ने भएका हुन्। आज दिउँसो १ बजे कोइरालाको सचिवालय बालुवाटारमा भेला बस्ने एक नेताले बताए।
सोमबार कांग्रेसले केन्द्रीय समिति बैठक राखेको छ। उक्त बैठकमा कसरी प्रस्तुत हुने र के(के एजेन्डा राख्ने भन्नेबारे कोइराला पक्षले आज पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग छलफल गरी सामूहिक धारणा बनाउन लागेको ती नेता बताउँछन्।
सभापति शेरबहादुर देउवाले छ महिनाभित्र विधानअनुसार गर्नुपर्ने काम गर्न सकेका छैनन्। भ्रातृ संस्थामा नेतृत्व दिँदा पनि आफूहरूसँग परामर्श नगरेको आरोप कोइराला पक्षको छ। कांग्रेसले भ्रातृ संस्थाका विधानबारे केही समयदेखि पदाधिकारी बैठकमा छलफल गर्दै आएको छ।
नेता एनपी साउदको संयोजकत्वमा कांग्रेसले भातृ तथा शुभेच्छुक संस्थाका विधानबारे अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो। उक्त समितिले पार्टीमा प्रतिवेदन बुझाइसकेको छ। यो प्रतिवेदनमा केन्द्रित रहेर अन्तिम रूप दिनका लागि पदाधिकारी बैठक बस्ने भएको हो।
कांग्रेसका अधिकांश भ्रातृ संस्थाले महाधिवेशन गर्न सकेका छैनन्। नेविसंघलगायत चार भ्रातृ संस्थामा केन्द्रीय समितिले दिएको अधिकारअनुसार सभापति शेरबहादुर देउवाले अध्यक्ष मात्रै तोकेका छन्।
केही नयाँ संस्था तथा शुभेच्छुकले भ्रातृ तथा शुभेच्छुक संस्थाको मान्यता दिनुपर्ने माग गरिहेका छन्। कांग्रेसले सोमबारका लागि केन्द्रीय कार्यसमिति बैठक राखेको छ। उक्त बैठकमा भ्रातृ तथा शुभेच्छुक संघसंस्थाबारे छलफल हुनेछ।
उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पदाधिकारी बैठक बस्ने गरेको छ। यसअघि पदाधिकारी बैठकमा सभापति देउवा उपस्थित भएका थिएनन्।
कांग्रेसमा अहिले १३ भ्रातृ र १८ शुभेच्छुक संस्था छ। भ्रातृ संस्थामध्ये अधिकांश महाधिवेशन हुन नसकेर तदर्थ समितिका भरमा छन्। यस्तै कांग्रेसले पाँच भ्रातृ तथा केही शुभेच्छुक संस्था थप गर्ने गृहकार्य पनि गरेको छ।