छानवीनलाई सहयोग गर्न अर्थमन्त्री शर्माद्वारा संसदमै राजीनामा घोषणा

मूलखबर संवाददाता
काठमाडौं, २२ असार ।

अर्थमन्त्री जनार्दन शर्माले संसदिय छानवीन समितिलाई सहयोग गर्न भन्दै पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । व्यवस्थापिका संसदको बुधबारको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले आफूले जनपक्षीय र सबैलाई सम्बोधन गरेर बजेट ल्याएको दावी सहित नागरिक समाजले आफ्नोबारे प्रश्न उठाउँदै छानवीन गर्न माग गरेपछि अनुसन्धानलाई सहयोग पुर्याउन पदबाट राजीनामा दिएको बताए ।

बुधबार बसेको सर्वदलीय बैठकले छानवीन समिति बनाउने सो निर्णय गरेको थियो ।
अर्थमन्त्री शर्माले आफु परिवर्तनको प्षमा निरन्तर लडिरहेको सिपाही भएको बताउँदै बन्द भएका उद्योग खोल्न आफूले करका दर परिवर्तन गरेको बताएका थिए । उनले सिसिटिभी फुटेजको विषय प्राविधिक विषय भएकाले त्यसको जवाफदेहीता आफूले लिन नसक्ने बताएका थिए । उनले त्यसबारे छानवीनका लागि सहयोग गर्ने र समितिले ल्याएको प्रतिवेदनलाई सहर्ष स्वीकार गर्ने बताए ।

उनले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा कुनै त्रुटी नगरेको दाबी गर्दै एउटा होइन, हजार वटा छानबिन समिति सामना गर्न तयार रहेको पनि बताएका छन्। शर्माले बजेट निर्माणमा कुनै त्रुटी नगरेको दाबी पनि गरे। उनले स्थापित मूल्य र मान्यताकै आधारमा बजेट बनेको बताए।

‘बजेट निर्माण गर्दा कुनै त्रुटी गरेको छैन, स्थापित मूल्य मान्यताका आधारमा बजेट निर्माण भएको छ। करको दररेट हेरफेर गर्ने विषयमा दुईवटा सचिवलाई नीतिगत निर्देशन गरेको छु,’ शर्माले भने, ‘म जेठ १४ गते बेला साढे ११ बजे क्वार्टर पुगेर सुतेको र जेठ १५ गते विहान ६ बजे मन्त्रालय पुग्दा सचिवहरु काम गरिरहनुभयो।’

सो समितिमा प्रमुख प्रतिपक्षी दल एमालेबाट ४ जना, नेपाली काँग्रेसबाट २, माओवादी केन्द्रबाट २ जना, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक एक जना सदस्य राख्ने सहमति भएको हो ।
दलहरुले समिति सदस्य तोकेपछि सभामुखले सभामा प्रस्तुत गर्ने सहमति भएको छ । प्रमुख प्रतिपक्षी एमालेले गत असार १४ गते बेलुकाको अर्थमन्त्रालयको सीसीटीभी फुटेज जाँच गर्न माग गर्दै आइरहेको छ ।