माओवादी केन्द्रको बैठक प्रज्ञा भवनमा : प्रदेश अध्यक्षको रिपोर्ट, पदाधिकारी चयन गर्न माग
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक राजधानीमा सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा शुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले राजनीीतक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम पनि छ । बैठमा प्रचण्डले ९ वटा एजेण्डा प्रस्तुत गर्नुभएको छ । गत पुसमा आठौँ महाधिवेशन गरेको माओवादीले अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन गर्न सकेको छैन । केन्द्रीय समितिको बैठक सुरु भएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।
बैठकको कार्यसूचीमा केन्द्रीय समितिलाई पूर्णता दिने, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन रहेको छ । यस्तै बैठकमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा र आगामी कार्यदिशाका बारेमा पनि छलफल गरिने भएको छ ।
गत पुसमा सम्पन्न महाअधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरे पनि अन्य पदाधिकारी भने चयन गर्न सकेको थिएन । महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गर्नाका साथै २९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरेको थियो ।
महाधिवेशनपछि पटकपटक सर्दै आएको बैठकले साङ्गठनिक काम कारवाहीका अलावा, मुलुकको पछिल्लो राजनीतिक अवस्था तथा आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनको तयारीका बारेमा समेत छलफल गर्ने कार्यसूचीमा उल्लेख छ । बैठकमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराउनुहुने भएको छ ।
बैठकमा नयाँ सदस्इको सपथ ग्रहणपछि प्रदेश अध्यक्षहरुले रिपोर्टीङ गरिरहेका छन् । दिउँसोसम्म माओवादीका सात प्रदेशका अध्यक्षहरूले आ(आफ्ना धारणा राखेका छन्। उनीहरू सबैले पदाधिकारी चयन गर्नुपर्ने बताएको एक केन्द्रीय सदस्य जानकारी दिए।
प्रदेश अध्यक्षहरूले वैशाख ३० गते भएको स्थानीय तह चुनावको परिणाम सन्तोषजक भए पनि उत्साहजनक नभएको र गठबन्धन गरेका कतिपय ठाउँमा कांग्रेसले धोका दिएको बताएका थिए।
अबको चुनावमा गठबन्धनको भर पर्ने भन्दा पनि आफ्नै तागतमा चुनाव लड्ने गरी मेहनत गर्नु पर्ने उनीहरूको सुझाव रहेको जानकारी उनले दिए।
केन्द्रीय कमिटि बैठकमा पदाधिकारी चयनको विषय पनि एजेन्डामा राखिएको छ। गत वर्ष महाधिवेशन भए पनि माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको छैन। बैठक मंगलबारसम्म चल्नेछ।