एसपीपी खारेज गराउन नेतृत्वदायी भुमिका खेल्ने माओवादी केन्द्र नै हाे – प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  एसपीपीमार्फत केपी ओलीले नेपाललाई अमेरिकी सैन्य गठबन्धनमा लान लागेको भए पनि माओवादीकाे नेतृत्वदायी भुमिकामा वर्तमान सरकारले त्यसलाई रोकेको बताए ।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले ललितपुरमा अायाेजना गरेको नेपालमा समाजवाद : सम्भावना र चुनाैति विषयक कार्यशाला गाेष्ठिमा उनलेे भने-  ‘एसपीपीलाई खारेज गराउनेमा नेतृत्वदायी भूमिका पनि हामीले नै खेलेको हो । कसैले इन्कार गर्न सक्दैन, इन्कार गर्न हुँदैन । यो एसपीपी कहाँबाट आएको हो ? केपी ओली नेतृत्वको सरकारले एसपीपी गरेर सैन्य गठबन्धनतिर लैजाने कामको सुरुवात गरेको हो । यसको जिम्मा उनले नै लिनपर्छ, हामी चाहिँ मान्दैनौं,’ उनले भने, ‘एसपीपी खारेज गराइछाडिन्छ भन्ने मैले नै बोलेपछि चुनौती भएको थियो संसदमा । एमालेको एकजना नेताले चुनौती दिन्छु भनेको ४ घण्टापछि त प्रमाण आयो । त्यसपछि त्यो चुनौती पनि खत्तम भयो ।’ स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने भन्दै सरकारले अमेरिकालाई पत्र लेख्ने निर्णय शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले हालैमात्र गरेको थियो । उक्त कार्यक्रमले नेपालमा विवाद ल्याएको थियो ।