२२० केभी प्रसारण लाइनमा चढेका व्यक्तिको ७ घण्टापछि नेपाली सेनाद्वारा उद्वार

मूलखबर संवाददाता
काठमाडौं

ककनीबाट दिनभरि हाइटेन्सन लाइनमा चढेका प्रेम बिक (माइला) लाई नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेको छ ।   शनिबार बिहान १० बजेदेखि बिजुलीको तारमा चढेर हिँडिरहेका बिकलाई साँझ ७ बजेपछि नेपाली सनोको टोलीले सकुसल उद्धार गरेर जमिनमा उतारेको स्थानीय जयबहादुर तामाङले नेपाल बताए ।  तामाङमा अनुसार हेलिकोप्टरमा गएका तीनजना सैनिकले उनलाई फकाएर तारबाट निकालेर हेलिकोप्टरमा चढाएका थिए ।   नेपाली सेनाको उद्धारसँगै एक सन्की व्यक्तिले मच्चाएको बितण्डा समाप्त भएको छ ।

लाइनमा झुण्डिएका व्यक्तिको उद्धार गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले नेपाली सेनालाई आग्रह् गरेकी थिइन् । उनले शनिबार दिउँसो हेलिकप्टरबाट भए पनि ती व्यक्तिको उद्धार गर्न नेपाली सेनालाई भनेको बताएकी छन् । उनले ट्विटरमा लेखेकी छन्, ‘विद्युत लाइनको जोखिमलाई ध्यान दिएर हेलिकप्टरबाट भए पनि उद्धार गरौं ।’  नुवाकोटकै बेलकोटगढी नगरपालिका–१२ का माइला विक शनिबार दिउँसो ककनी गाउँपालिका– ७ मा त्रिशुली मातातीर्थ प्रशारण लाइनको तारमा चढेका थिए । त्यसपछि प्रहरी र स्थानीय वासिन्दाले प्रयास गर्दा पनि उनी तल ओर्लन मानेका छैनन् । उनी प्रशारण लाइनमा चढेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर नेपाल विद्युत प्राधिकरणले सो प्रशारण लाइनमा विद्युत प्रवाह रोकेको छ । त्यसका लागि त्रिशुली थ्री ए र नजिकका अरु साना विद्युत गृहबाट उत्पादन बन्द गरेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले हेलिकप्टर तयारी अवस्थामा रहेको बताएका छन् । ‘अहिलेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रयास गरिरहेको छ । हाम्रो टोली हेलिकप्टरसहित स्ट्याण्डबाइ छ, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय भइरहेको छ’ उनले भने ।