३६४ मेगावाट विद्युत भारत निर्यात गर्न सुरु, ऐतिहासिक फड्को : प्राधिकरण
नेपालबाट ३६४ मेगावाट विद्युत शुक्रबारबाट भारत निर्यात गर्न सुरु भएको छ । नेपालले निर्यात गरेको यो विजुलीको परिमाणभारतले स्वीकृत गरेजति नै हो । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत १९ जेठबाट भारतीय ऊर्जा एक्सचेन्ज ९आईएक्स० मार्केटमा प्रतिस्पर्धी दर बिक्री सुरु गरेको थियो ।
भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले ६ वटा जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत आइएक्स मार्केटमा बिक्री गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको थियो ।
गत चैतमा प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल-भारतबीच ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्र जारी भएको थियो । त्यसलगत्तै विद्युत प्राधिकरणले थप ४ जलविद्युतगृहबाट उत्पादित विद्युत भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो ।
शुक्रबारबाट निजी क्षेत्रको ग्रीन भेन्चर्स लिको लिखु-४ बाट उत्पादित विद्युत निर्यात भएसँगै स्वीकृति पाएजति विद्युत् भारतीय बजारमा बिक्री सुरु भएको हो ।
आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ ।
प्राधिकरणले शुक्रबारका लागि विद्युतको अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमशः १९.२ रुपियाँ (१२ भारु) र ३.९९८४ रुपियाँ (२.४९९ भारु) पाएको छ । औसत मूल्य प्रतियुनिट ११.४२ रुपियाँ (७.१४ भारु) रहेको छ ।
भारतको केन्द्रीय विद्युत प्रणालीअन्तर्गत दैनिक विद्युत बजार (डे अहेड मार्केट)मा विद्युत बिक्री गरिन्छ छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा छ ।
विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुन्छ । प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत निर्यात गरिन्छ ।