बजेटको मन्त्रालयगत शीर्षकमा छलफल प्रारम्भ

मूलखबर संवाददाता
काठमाडौं, २३ जेठ

आर्थिक वर्ष २०७९/८० को बजेटको मन्त्रालयगत शीर्षकमाथि सोमबारदेखि छलफल प्रारम्भ हुँदैछ । सैद्धान्तिक छलफल सकिएपछि सोमबारदेखि मन्त्रालयगत छलफल थाल्न लागिएको हो ।

सङ्घीय संसद् सचिवालयले छलफल र विभागीय मन्त्रीको जवाफको सम्भावित तालिका तयार पारिसकेको छ तर कार्यव्यवस्था परामर्श समितिले प्राप्त मन्त्रालयगत विवरणका आधारमा सम्भावित कार्यतालिकालाई हेरफेर गर्नसक्ने छ ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सोमबारका लागि तय भएका सातमध्ये पाँच मन्त्रालयको विवरणसमेत प्राप्त भइसकेको जानकारी दिनुभयो । जेठ २५ गतेसम्म मन्त्रालय र मातहतका कार्यालयको विनियोजन शीर्षकको छलफल सक्ने तयारी सचिवालयको छ ।

सचिवालयले तयार पारेको कार्यतालिकाअनुसार सोमबार कानुन, न्याय तथा संसदीय मन्त्रालय, युवा तथा खेलकुद, श्रम रोजगार, वन तथा वातावरण, सहरी विकास मन्त्रालय शीर्षकमा छलफल हुनेछ । यस्तै भूमि व्यवस्था, महिला तथा बालबालिका मन्त्रालय शीर्षकमा पनि सोमबार नै छलफलको कार्यतालिका छ ।

यस्तै मङ्गलबार कृषि तथा पशुपन्छी, शिक्षा, उद्योग, संस्कृति पर्यटन, भौतिक पूर्वाधार, परराष्ट्र र खोनेपानी मन्त्रालय शीर्षकमा छलफल हुनेछ । जेठ २५ गते अर्थ, स्वास्थ्य तथा जनसङ्ख्या, सङ्घीय मामिला, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि, गृह मन्त्रालय शीर्षकमा छलफल हुनेछ ।

यस्तै राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, योजना आयोगको सचिवालयको बजेटमा पनि जेठ २५ गते नै छलफल हुनेछ । जवाफका लागि विभागीय मन्त्रीहरूलाई दुई दिनको समय छुट्याइएको छ । जसमा जेठ २६ गते १२ मन्त्रालय २७ गते बाँकी मन्त्रालय र कार्यालय शीर्षकमा उठेका प्रश्नमा विभागीय मन्त्रीले जवाफ दिनेछन् । मन्त्रालयगत छलफल सकिएपछि विनियोजन विधेयक पारितको प्रक्रिया अघि बढ्नेछ ।