रेणु दाहाललाई जिताउने गठबन्धनको बाचा, गठबन्धन दिर्घकालीन बनाउने प्रचण्डको अठोट

मूलखबर संवाददाता
चितवन, २२ बैशाख ।

भरतपुर महानगरपालिकामा रेणु दाहालको नेतृत्वको टीमलाई जिताउने बाचा गठबन्धनले गरेको छ । चितवनको भरतपुर हाकिमचोकस्थित साझा बसपार्कमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्ने गठबन्धन दलका शिर्ष नेताहरुले भरतपुरमा गठबन्धनका उमेदवारलाई जिताउने बाचा गरेका छन् ।

कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले राष्ट्र र संविधान बचाउन गठबन्धन गरिएकोले गठबन्धनका उमेदवारलाई जिताउनु अहिलेको मुख्य कार्यभार भएको बताउनुभयो । उहाँले रेणुलाई महानगरको मेयर र चित्रसेनलाई उपमेयरमा जिताउन अपील गर्नुभयो ।

देउवाले भरतपुर महानगरपालिकाको मेयरमा रेणुलाई जिताउन कुनै बखेडा नगर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभयो ।

देउवाले गठबन्धन टुटाउने विभिन्न षड्यन्त्र भइरहेको बताउँदै त्यसलाई असफल पार्न आग्रह गर्नुभयो । देउवाले भन्नुभयो ‘षड्यन्त्रमा फस्यो भने हाम्रो पार्टी खतम हुन्छ,’ ‘यो गठबन्धन टुटाउने षड्यन्त्र चितवन, भरतपुरबाट हुनै सक्दैन ।’

कार्यक्रममा सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र वा कम्युनिष्टको सहकार्य अहिलेको मात्रै नभई २०४६ सालदेखि शान्ति सम्झौता हुँदै अहिलेसम्म कुनै न कुनै रुपमा जारी भएकाले अहिले हँसिया हतौडामा भोट दिन आनाकानी गर्नु जरुरी नभएको बताउनुभयो । उहाँले यदि रुखवालाले हँसिया हतौडामा र हसिया हतौडावालाले रुखमा भोट हाल्न नमान्ने हो भने देश दुर्घटनामा जानसक्नेतर्फ विचार गर्न अपील पनि गर्नुभयो । उहाँले रेणुको टिमको विजयको शुरुवात भइसकेको बताउनुभयो । उहाँले गठबन्धनलाई ५, १० २० वर्षसम्म टिकाउन आफू प्रतिवद्ध रहेको बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले रेणुको नेतृत्वमा महानगरमा भएको कामको रिपोर्ट सुनेर आफू दंगदास भएको बताउँदै रेणुविनाको भरतपुरको कल्पना गर्न नहुने बताउनुभयो । उहाँले गठबन्धनबाट रेणु दाहाललाई भरतपुरको मेयरमा चयन गर्नु अत्यन्तै सान्दभीक र वस्तुवादी भएकाले रेणु दाहालको टिमलाई विजय गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनकै कारण नेपाली काँग्रेसले पुनर्जीवन पाएको विर्सन नहुने बताउँदै गठबन्धनलाई पुर्ण रुपमा विजय गराउन र दयाँ वाया नगर्न कांग्रेस कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

पौडेलले गै‌डाकाेटका पोखरेल गण्डकी प्रदेशको मुख्य मन्त्री बनाएको गठबन्धनकै कारण सम्भव भएको बताउँदै रेणु दाहाल जस्तो विकास प्रेमी व्यक्तिलाई भरतपुरको मेयर बनाउन कुनै कसर बाँकी राख्न नहुने बताउनुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेस चितवनका पुर्व सभापति जितनारायण श्रेष्ठले आफूहरु भरतपुरमा रेणुलाई जिताउन तयार भएको र गठबन्धनको उमेदवारको जितलार्य कुनै तागतले रोक्न नसक्ने बताउँदै दायाँ वायाँ सोचेका कांग्रेसका नेता कार्यकर्ताहरुले विना कुनै संकोच रेणु दाहाललाई हँसिया हतौडामा भोट हाल्न अपील गर्नुभयो । साथै श्रेष्ठले आगामाी दिनमा आफूहरुलाई धोका नहुने ज्ञारेन्टी गरिनुपर्ने बताउनुभयो ।

कार्यक्रमका सभापति तथा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले रेणु दाहालको नेतृत्वमा भएको महानगरको विकासलार्य कुनै नजरअन्दाज गर्न नहुने र नेपाली कांग्रेसले खुला ह्दयले गठबन्धनको तर्फबाट रेणु दाहालको टिमलाई विजय गराउन तयार भएको बताउनुभयो । उहाँले चितवन कांग्रेस पार्टीको निर्णयलाई पूर्ण रुपमा कार्यान्वयनमा लैजान तयार रहेको बताउनुभयो ।

कार्यक्रममा रेणु दाहालले पाँच वर्षमा आफ्नो नेतृत्वमा भएको महानगरको विकास र प्रगतिको फेहरिस्त संक्षिप्तमा राख्दै आगामी दिनमा राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गरेर भरतपुरलाई गौरवको शहर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । नेकपा माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुर्यप्रकाश शर्माले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा चितवनका सबै नगरपालिकाका उमेदवारहरु र भरतपुर महानगरका २९ वटै वडाका उमेदवार र नेता कार्यकर्ताहरुसहित हजारौं जनसमुदायको सहभागिता थियो ।