काठमाडौंमा कसले मार्ला बाजी ? बालेनको डर स्थापितलार्ई, सिर्जना ढुक्क

मूलखबर संवाददाता
काठमाडौं, २२ बैशाख

स्थानिय तहको निर्वाचन आउन अब ३० दिन बाँकी छ । देशैभर निर्वाचनको माहोल तातेको छ । देशका प्मूख ६ वटा महानगरमा झन बढि चासो र चर्चा हुनु स्वभाविक नै हो ।

राजधानीसमेत रहेको काठमाडौं महानगरमा त्रिपक्षीय भिडन्त देखिएको छ । सत्तारुढ गठबन्धन, प्रतिपक्षी एमाले र स्वतन्त्रबाट उमेदवारी दिएका उमेदवारबीचको प्रतिस्पर्धा नै मुख्य हुने आंकलन गरिएको छ ।

सत्तारुढ गठबन्धनबाट मेयर पदमा उमेदवारी दिएकी प्रकाशमानसिंह पत्नी कांग्रेस नेतृ सिर्जना सिंह, एमालेबाट उमेदवारी दिएका पुर्व मेयर तथा मन्त्री केशव स्थापित र स्वतन्त्रबाट उमेदवारी दिएका र्यापर बालेन शाह अहिले मतदाताको मन जित्ने दौडमा लागेका छन् । उनीहरुमध्ये कांग्रेस उमेदवार सिंहलाई सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा लगायतको समर्थन र साथ छ भने एमाले उमेदवार स्थापितलाई एमालेको र कोर नेवारको साथ रहेको दावी गरिएको छ ।

स्वतन्त्र उमेदवार बालेन शाहलाई युवा जमातको समर्थन बढि देखिन्छ । स्थापितलाई युवा जमातको भोट बालेनले काट्ने डर देखिएको छ भने सिर्जनालाई कोर नेवारी समुदायको मत स्थापितले चोर्छन की भन्ने चिन्ता छ । तर सिंहलाई कांग्रेसको पुरै मत आउने र गठबन्धनको पनि समर्थन भएकाले निर्वाचन जित्ने ढुक्कता भने बढि देखिएको छ ।